
झापा, १७ माघ । मुम्बईमा भइरहेको टि–ट्वान्टी विश्वकप तयारीका क्रममा नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स–११ लाई ४८ रनले पराजित गरेको छ।
ब्रेबन क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आरिफ शेखको अविजित अर्धशतकको बलमा २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको योगफल बनायो। आरिफले ४२ बलमा ६६ रन बनाए भने गुलशन झाले १२ बलमा २३ रन थपे। आसिफ शेखले २५, लोकेश बमले १५, सन्दीप जोराले ३१ रन जोडे।

१८४ रनको लक्ष्य पछ्याएको मुम्बई टोली २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सिमित भयो। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी र गुलशन झाले समान २–२ विकेट हात पारे।
मुम्बईका ओपनर मुलचन्दानीले २७ बलमा सर्वाधिक ४७ रन बनाए भने अर्का ओपनर सक्सेनाले २३ रन जोडे।
यसअघि पहिलो अभ्यास खेलमा पनि नेपाल विजयी भएको थियो। दोस्रो जितसँगै नेपालको अभ्यास खेल सकिएको छ। नेपाली टोली भोलि मुम्बईबाट चेन्नई प्रस्थान गर्नेछ जहाँ विश्वकपको अन्तिम तयारीका क्रममा दुईवटा वार्म–अप खेल खेलिनेछ।

