
बिर्तामोड, १९ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आह्वान गरेको छ ।
झापा शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार हुने निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त, भयरहीत र धाँधलीरहीत रुपमा सम्पन्न गर्न आग्रहसमेत गरेको छ ।

निर्वाचनमा सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ । निर्वाचनको मौन अवधिमा सञ्चार क्षेत्रसहित सबै सारोकारवालालाई पुनः स्मरण गराउँदै आम सञ्चारमाध्यम र पत्रकारका लागि सात बुँदे आचारसंहिता जारी गरिएको महासंघका सचिव राजु पाठकले बताउनुभयो ।
यस्ता छन् सात बुँदे पत्रकार आचारसंहिता र निर्वाचन आचारसहिता
१. पत्रकार आचारसंहिता र निर्वाचन आचारसहिता पूर्णरुपमा पालना गरी व्यवसायिक पत्रकारिताको अभ्यासमा जिम्मेवार ढंगले प्रस्तुत हुन सबै आमसञ्चारमाध्यम र पत्रकारलाई आग्रह गर्दछौं ।
२. निर्वाचन मौन अविधिको पालनाबारे निगरानी र सरोकारवालालाई खबरदारी गर्नुपर्ने आवश्यकता उत्तिकै रहेको छ । अहिले समाज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री कुन समाचार हो, कुन होइन भन्ने व्याप्त भ्रममा अल्झेको छ । यस्ता भ्रम मौन अवधिमा अझै बढी फैलाउने प्रयास हुन सक्छन् । समाजका यी भ्रमहरूलाई चिर्न सत्य तथ्य र निष्पक्षमा आधारित रहेर सामग्री प्रकाशन, प्रसारण गर्न सबै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गर्दछौं ।
३. प्रेस ज्याकेट, परिचयपत्र भिरेर पत्रकारको पहिचान खुल्ने गरी रिपोर्टिङका लागि कार्यक्षेत्रमा खटिन सबै पत्रकारलाई आग्रह गर्दछौं ।
४. पत्रकारहरुले रिपोर्टिङका लागि कार्यक्षेत्रमा आवतजावत गर्न मतदानका दिन प्रयोग गर्ने पास लिएका सवारी साधनमा पत्रकार बाहेक अरु कसैलाई पनि नचढा नचढाउन, प्रेस ज्याकेट र परिचयपत्र दुरुपयोग हुन नदिन सबै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गर्दछौं ।
५. निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग अनुरोध गर्दछौं ।
६. पत्रकार र सञ्चारमाध्यमका सवारी साधनलाई प्रेस पास वा सवारी साधन पासका आधारमा निर्वाध रूपमा आवाज–जावत गर्ने व्यवस्था मिलाउन सबै पक्षसंग आग्रह गर्दछौं ।
७. पत्रकारलाई सुरक्षित रहेर उच्च मनोवलका साथ कार्यस्थलमा जुट्न महासंघ झापा अनुरोध गर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

