
झापा, ३ चैत । आफ्नो उत्कृष्ट नृत्यका कारण बलिउडमा छुट्टै पहिचान बनाएकी अभिनेत्री नोरा फतेही यतिबेला नयाँ विवादमा तानिएकी छिन्। उनको आगामी चलचित्र ‘केडी द डेविल’ को नयाँ गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक भएलगत्तै यसको शब्दलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ ।
मार्च १५ मा रिलिज भएको यस गीतमा नोरासँगै सञ्जय दत्त पनि देखिएका छन्। यस गीतमा प्रयोग गरिएको शब्दप्रति बलिउडका चर्चित गायक अरमान मलिकले खुलेरै असन्तुष्टि जनाएका छन्।
मलिकले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो प्रतिक्रिया दिँदै व्यवसायिक गीत लेखनको स्तर यति धेरै गिरेको देख्दा दुख लागेको बताएका छन्। उनले सुरुमा गीत सुन्दा आफूले गलत सुनेको हो कि भन्ने लागेर पुनः सुनेको तर शब्दहरू निकै तल्लो स्तरको पाइएको उल्लेख गरेका छन्।
चलचित्रको यस गीतमा नोरा फतेही घाँघरा चोलीमा सजिएर नाचिरहेकी देखिन्छिन्। तर, गीतका बोलहरू अश्लीलताले भरिएको भन्दै धेरैले सामाजिक सञ्जालमा निर्माण पक्षको आलोचना गरिरहेका छन्।
मंगलीले गाएको यस गीतलाई रकीब आलमले लेखेका हुन्। गीत भाइरल भइरहँदा यसले निम्त्याएको विवादले चलचित्रको चर्चालाई अझ बढाएको छ। ओलोचना बढेपछि अफिसियल च्यानलबाट यो गीत युट्युबबाट हटाइएको छ ।
‘केडी द डेविल’ आगामी अप्रिल ३० मा सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ । यस चलचित्रमा सञ्जय दत्त र नोरा फतेहीका साथै रमेश अरविन्द, वी. रविचन्द्रन र शिल्पा शेट्टी जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । गीतलाई लिएर सुरु भएको यो विवादले चलचित्रको व्यापारमा कस्तो असर पार्छ भन्ने कुरा हेर्न बाँकी छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



