
मेजर श्याम बहादुर गुरुङ
विगतमा बुद्ध जयन्तीको दिन काठमाण्डौं उपत्यका भित्रका बौद्ध धर्मावलम्वी कर्मचारीहरूलाई मात्रै बिदा दिइने प्रचलन थियो। समयक्रमसँगै आज देशभरी सार्वजनिक बिदाको व्यवस्था छ। छिमेकी राष्ट्र भारतमा पनि बुद्ध पूर्णिमा नामले देशभरी सार्वजनिक बिदा (Gazetted Holiday) हुन्छ । अमेरिकाको न्यू योर्कमा रहेको विश्वको सर्वोच्च निकाय संयुक्त राष्ट्रसंघको मुख्यालय तथा विश्वभरीका शाखा कार्यालयहरूमा समेत सार्वजनिक बिदाको व्यवस्था रहेको छ। विश्वका अरु बौद्ध राष्ट्रहरूमा आ-आफ्नै प्रकारले मनाइने बुद्ध जयन्तीको उदाहरण श्रीलङ्कामा बेसाक डे (Vesak Day) नामले राष्ट्रिय पर्वको रुपमा हप्तौंसम्म हर्षोल्लासका साथ मनाइन्छ। आजका दिन हामी भगवान बुद्धसँग जोडिएको देशको गौरव लुम्बिनीलाई सँगसँगै स्मरण गर्दै २५७० औ बुद्ध जयन्ती मनाइ रहेका छौं ।
वर्तमान समयमा रुपन्देही जिल्ला अन्तर्गत लुम्बिनीमा भगवान बुद्धको जन्म ५६३ ई. पू. मा वैशाख महिनाको पूर्णिमा तिथिको दिन भएको थियो। पैतिस वर्षपछि बुद्धगयामा बोधिज्ञान/बुद्धत्व प्राप्त गर्नु भएको दिन पनि वैशाख पूर्णिमाकै दिन थियो । मानव जीवनकालको अस्सी वर्षको उमेरमा भारतको कुशीनगरमा महापरिनिर्वाण मानव देह त्याग) वैशाख पूर्णिमाकै दिन प्राप्त गर्नु भएको थियो। जन्म, बुद्धत्व प्राप्ति अनि परिनिर्वाण वैशाख पूर्णिमा तिथिकै दिन पर्नुलाई त्रिसयोगको रुपले पनि बुझ्ने गरिन्छ । आज यस लेख मार्फत अध्यात्म जगतमा पूर्णिमा तिथिको महत्व र विज्ञानसँग जोडेर प्रकाश पारिनु सान्दर्भिक भएको छ ।
विज्ञान र पूर्णिमा तिथि :
अमेरिकाको फ्लोरिडा प्रान्तको दैनिक ओप्रेशन (चिरफार) भइरहने व्यस्त अस्पतालमा चिकित्सा विज्ञानसँग जोडिएको एउटा छुट्टै यथार्थ खुल्न आएको थियो। प्रत्येक महिनाको एक दिन अलि भिन्न दिन अरु दिनको तुलनामा ओप्रेशन गर्दा बिरामीको रगत धेरै बग्ने गरेको थाहा पाए। ओ.टी. (Operation Theatre) मा काम गर्ने प्राविधिक र नर्सले छुट्टै तथ्याङ्कहरु राखेर बुझ्दा कुरा सही सावित भयो। उनीहरुले चिकित्सकहरुलाई बताए ।
डाक्टरहरुले सुरुमा विश्वास गरेनन् । सबै डाक्टरहरुले पनि छुट्टाछुट्टै तथ्याङ्ग राखेर वर्ष दिनपछि सबैको तथ्याङ्ग भिडाउदा कुरा सही साबित भयो। बिरामीको चिरफार गर्दा अरु दिन भन्दा पूर्णिमा तिथिको दिन रक्तस्राव (Bleeding)धेरै हुने पत्ता लागेपछि विज्ञानसँग प्रकृति र ग्रहहरुको प्रत्यक्ष प्रभाव हुने सर्वसम्मत स्वीकार्य भएको थियो ।
सन्दर्भ (Ven Sri K Dhammananda: What Buddhists Believe. ) :
प्रत्येक महिनाको एक रात अन्धकार र अकों जुनेली चाँदनी, रात, चक्रिय रुपमा आइरहने प्रकृतिको नियम विज्ञानले बदल्नु नसकेको पनि सही हो। पूर्णिमाको रातमा समुद्रको ज्वार-भाटा (पानीको धार उठेर खाली किनारामा भरिनु र पुनः हट्दै मूलधारमा मिसिनु ) अरु दिनको तुलनामा पूर्णिमा तिथिमा धेरै हुने यथार्थ छँदैछ। श्वासप्रश्वासको दीर्घ रोगी र विरामीहरु पूर्णिमाको दिन अलि सहज महसुस गर्ने अनुभवहरु छन् । विभिन्न विश्वासमा आस्था राख्ने वा सम्प्रदायहरुको कुनै न कुनै धार्मिक विश्वास पूर्णिमा तिथिसँग जोडिएको हुने समाजमा रहेको हुन्छ। ईस्लाम धमर्मावलम्बीहरुको पर्व इंदको व्रत पूर्णिमाको रात चन्द्रमाको प्रतिविम्व पानीमा देखेपछि व्रत फुकुवा गर्ने परम्परा पनि अको उदाहरण हो ।
लुम्बिनी बारे :
बुद्धको परिनिर्वाणपछि अहिले देखिरहेको भगवान बुद्धको जन्मस्थल लुम्बिनी अत्यन्तै नाजुक अवस्थामा जङ्गल र झाडीले छोपिएको बेवास्ता अवस्थामा थियो । भौतिक संरचनाहरुको नामोनिशान नभएको हालतमा जङ्गलमा अशोका स्तम्भ पनि पशुचरणमा गोठाला र शिकारीहरुले बिरलै देखे तापनि त्यसमा कुँदिएको लेखिएको कुरा पढ्न कसैलाई आउँदैन थियो। वर्षीपछि चिनियाँ यात्री (भिक्षु) ह्वेनसाङद्वारा लुम्बिनी बारे गम्भीर अध्ययनपछि लेखिएको डायरी अनि भारतका मौर्यवंशका सम्राट अशोकद्वारा आफ्नो राज्यभिषेकमा लुम्बिनी दर्शन भ्रमण गर्नुका कारण लुम्बिनी बारे नेपालमा केही हदसम्म चासो राख्न थालिएको थियो। त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव, विदेशी राजपरिवारहरूद्वारा दर्शन भ्रमण गर्न थालेपछि विस्तारै प्रचार हुन थालेको हो। जापानका प्रसिद्ध डिजाईनर इन्जिनीयर (वास्तुविद) केन्जो टांगेद्वारा लुम्बिनी विकासको मास्टर प्लान डिजाइन बनाएर नेपाल सरकारलाई बुझाएपछि थप विकास हुँदै वर्तमान अवस्थासम्म आइपुगेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



