बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर २ स्थित चारपानेमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सरकारी नीति तथा प्रक्रियाका कारण केही विकास निर्माणका कामहरू अपेक्षित रूपमा अघि बढाउन कठिनाइ हुने गरेको बताउनुभयो । नगरपालिकाले आह्वान गरेको बालुवा–गिटीको ठेक्काको सन्दर्भमा बोल्दै उहाँले कुनै पनि आवेदन नपरेकाले नगरबासीलाई आवश्यक गिटी उपलब्ध गराउन समस्या भएको स्पष्ट बनाउनुभयो ।
नगर प्रमुख प्रसाईंका अनुसार गिटीको सरकारी दर प्रति टिपर ७ हजार २ सय ५० रुपैयाँ (७.५ घनमिटर)भए पनि महँगीको कारण भाउ बढेकोले भ्याटसमेत जोडिँदा मूल्य करिब ९ हजार रुपैयाँ पुग्ने अवस्था छ। तर, नीतिगत व्यवस्थाका कारण बजेट थप गर्न नसकिएकाले समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। उहाँले कार्यक्रममा उठाइएका सकारात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यसैगरी नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले नगरपालिकाले हालसम्म हासिल गरेका विकासका उपलब्धि तथा सामना गरिरहेका चुनौतीबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले सडक निर्माण तथा स्तरोन्नति, ढल निकास, लागूऔषध नियन्त्रण, पैनी व्यवस्थापन, विद्युत् सेवा, फोहोर व्यवस्थापनलगायतका विषयमा जनप्रतिनिधिसमक्ष जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।
उठाइएका प्रश्नहरूको जवाफ वडा नं. २ का वडाध्यक्ष किशोर पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र लगायतले दिनुभएको थियो।


