
भद्रपुर, ११ असार । नेपाल चिया उत्पादक संघले चिया उद्योगहरू पुनः सञ्चालन गर्ने तथा यसअघि घोषणा गरिएका बन्दका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर ९एसओपी० का कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएपछि चिया उद्योग गम्भीर संकटमा परेको उल्लेख गरेको छ। यस विषयमा सरकारको ध्यानाकर्षण गराउन उद्योगीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।
संघका अनुसार चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न नेपाल सरकारले विशेष कार्यदल गठन गरेको छ। साथै, चिया किसान र उद्योगीका समस्याबारे छलफल तथा समाधानका लागि सरकारले सकारात्मक पहल थालेको भन्दै संघले त्यसको स्वागत गरेको जनाएको छ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी चिया क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको थियो। भेटका क्रममा समस्या समाधानका लागि आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल हुने आश्वासन प्राप्त भएको संघले जनाएको छ।
सरकारको सकारात्मक प्रतिबद्धता, चिया किसानको संवेदनशील अवस्था तथा उद्योग बन्द हुँदा पर्ने दीर्घकालीन असरलाई मध्यनजर गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरी बन्द रहेका चिया उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
संघले चिया क्षेत्रको दीर्घकालीन समाधानका लागि सरकार, उद्योगी, किसान, मजदुर, राजनीतिक दल, नेपाल उद्योग वाणिज्य महासंघ तथा सञ्चारकर्मीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै समस्या समाधानका लागि सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको जनाएको छ।


