
निशान निरौला
इलाम, १४ असार । लगातारको वर्षापछि इलामस्थित मेची राजमार्गका विभिन्न तीन स्थानमा लेदो, पहिरो, भित्ता खस्नुका साथै रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार असार १३ गते राति करिब ११ः४० बजे इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा लेदो सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । त्यस्तै, असार १४ गते बिहान ५ः३० बजे रोङ गाउँपालिका–४ डुमी चोकमा सडकको भित्ता खस्नुका साथै सखुवा जातको रुख ढलेर यातायात पूर्ण रूपमा बन्द भएको छ ।
त्यसैगरी, बिहान ६ः३० बजे इलाम–झापा सिमाना अन्तर्गत रोङ गाउँपालिका–४ क्षेत्रमा भित्ता खस्नुका साथै चिलाउने जातका दुई वटा रुख ढल्दा मेची राजमार्ग पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजदुवाली क्षेत्रमा प्रहरी चौकी गोलाखर्क तथा डुमी क्षेत्रमा प्रहरी चौकी किटनीबाट प्रहरी टोली खटिएर सुरक्षा व्यवस्थापन तथा सडक खुलाउने समन्वय गरिरहेको छ। सडक मर्मत तथा अवरोध हटाउन स्थानीय निकायसँग आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त मार्ग प्रयोग नगर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।


