
झापा, २२ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीशका रूपमा सरुवा भएर आएका प्रकाश राउतलाई स्वागत गरिएको छ ।
दुई वर्षे कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेल काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि राउतले झापा जिल्ला अदालतको कार्यभार सम्हालेका हुन् । नयाँ प्रमुख न्यायाधीश राउतलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, न्यायाधीशहरू अम्बिकाप्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल र डिल्लीप्रसाद आचार्य, अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेशप्रताप शाह तथा अदालतका कर्मचारीहरूले स्वागत गरेका थिए ।
अदालत प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा नौ जना न्यायाधीशको दरबन्दी रहेको छ र सामान्यतया दुई–दुई वर्षमा न्यायाधीशहरूको सरुवा हुने व्यवस्था छ।
हालै न्याय परिषद्को निर्णयअनुसार प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेल काठमाडौं जिल्ला अदालत, न्यायाधीश महेन्द्रप्रसाद पोखरेल पर्सा जिल्ला अदालत र ऋतबहादुर पुलामी मगर सिराहा जिल्ला अदालतमा सरुवा भएका छन्। त्यसैगरी झापामा प्रमुख न्यायाधीशका रूपमा प्रकाश राउत तथा न्यायाधीशहरू टेकनाथ गौतम र पुण्यप्रसाद सापकोटा सरुवा भएर आएका छन्।
अदालतका प्रशासन शाखा अधिकृत रामचन्द्र बस्नेतका अनुसार प्रमुख न्यायाधीश राउतसँगै सरुवा भएर आएका न्यायाधीश पुण्यप्रसाद सापकोटालाई पनि स्वागत गरिएको छ।


