
झापा, २७ साउन । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले २७ हजार ६९३ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरेको छ । गत आव २०८२/०८३ को एक वर्षको अवधिमा प्रहरीले उक्त परिमाणमा गाँजा बरामद गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ६४ हजार ८ सय १९ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ । आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म ६४ हजार ८१९ किलो ४७ ग्राम ५५५ मिलिग्राम गाँजा बरामद भएको हो ।
ब्राउन सुगरको बरामद परिमाण भने निरन्तर बढेको देखिन्छ। तीन आर्थिक वर्षमा गरी १९ किलो ७६६ ग्राम ७७८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । जसमध्ये २०८०/८१ मा ३ किलो ८८९ ग्राम ३४९ मिलिग्राम, २०८१/८२ मा ५ किलो ४८९ ग्राम ८९८ मिलिग्राम र २०८२/८३ मा १० किलो ३८७ ग्राम ५३१ मिलिग्राम बरामद भएको छ ।
त्यसैगरी, तीन वर्षमा चरेश २३४ ग्राम ९०८ मिलिग्राम तथा अफिम १५ ग्राम ५८८ मिलिग्राम बरामद भएको छ भने सोही अवधिमा विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल १४ लाख ३८ हजार ८७४ वटा बरामद भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ७८ हजार ३३८, २०८१/८२ मा ६ लाख १५ हजार ७९ र २०८२/८३ मा ७ लाख ४४ हजार ४५७ वटा चक्की तथा क्याप्सुल बरामद भएका छन् ।
यस अवधिमा विभिन्न मनोद्विपक सुई (एम्पुल) १२ हजार ९० वटा तथा अन्य विभिन्न मनोद्विपक औषधि ३८५ वटा बरामद गरिएको तथ्याङ्कले देखाएको छ ।


