
झापा, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। लामो समयदेखि नेपालमा निषेधको राजनीति चल्दै आए पनि त्यसले देशलाई निकास दिन नसकेको उहाँको भनाइ छ।
राप्रपाको नवलपरासी जिल्ला अधिवेशनलाई सम्बोधन गर्न शनिबार सदरमुकाम परासी पुग्नुभएका अध्यक्ष लिङ्देनले विगतमा राजा र राजनीतिक दलबीच तथा दलभित्रै पनि एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हिजो राजाले दलहरूलाई निषेध गरे होलान्, दलहरूले राजालाई निषेध गरे होलान्, एउटै दलभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्यो होला। तर लामो समयसम्म चलिआएको निषेधको राजनीतिले देशलाई दिशानिर्देश गर्न सकेन। अब हामी सबै एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति गर्नु आवश्यक छ।”
अध्यक्ष लिङ्देनले पुराना नेताको विस्थापन मात्रै मुलुकका समस्याको समाधान नभएको बताउनुभयो। उहाँले सबै राजनीतिक दलबीच एकता र सहमति कायम गरेर नै देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो।


