
झापा, १ भदौ । नागको पूजा–आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदैछ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो ।
नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्वीर टाँसी पूजा गर्ने परम्परा छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायत जीवबाट दुःख नहुने र अग्नि, मेघ तथा चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा। डा। देवमणि भट्टराईले बताउनुभएको छ ।
वैदिककालदेखि नै नागपूजाको प्रचलन रहेको मानिन्छ । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नागलाई खुसी पार्दा वर्षा र पानी पर्याप्त हुने विश्वासका कारण पनि नागपूजा गर्ने परम्परा बसेको बताइन्छ । वराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख रहेकाले पनि यस दिनलाई नागपूजाका लागि विशेष मानिन्छ ।
सनातन परम्परामा नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ । भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई धार्मिक रूपमा विशेष महत्त्व दिइएको हो । गणेशको एक हातमा नाग रहेको तथा लक्ष्मण र बलरामलाई शेषनागका अवतारका रूपमा मानिने धार्मिक मान्यता छ ।
नागपञ्चमीसँग जोडिएको प्रचलित किंवदन्तीअनुसार एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा मारेपछि उनकी आमा नागिनी क्रुद्ध भइन् । उनले किसान र परिवारका सदस्यलाई मारे पनि किसानकी छोरीले पूजा–आराधना र दूध अर्पण गरी नागिनीलाई प्रसन्न पारेपछि परिवारका सदस्यलाई पुनर्जीवनको वरदान पाएको विश्वास गरिन्छ । यही घटनासँग नागपञ्चमीको परम्परा जोडिएको किंवदन्ती प्रचलित छ ।
धार्मिक मान्यताअनुसार आज आठ कूलका आठ नाग—अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख—को पूजा गरिन्छ । ब्राह्मण पुरोहितबाट विधिपूर्वक पूजा गराई नागको तस्वीर घरको मूलढोकामाथि टाँस्ने चलन छ । आजको दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने परम्परा पनि रहेको छ ।
नागपञ्चमीका अवसरमा काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिन्छ । भक्तजनले नागलाई गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका सामग्री चढाउने गर्छन् ।
नागपञ्चमीलाई प्रकृति र जैविक विविधताको संरक्षणसँग जोडेर पनि हेर्ने गरिन्छ । नाग, सर्पलगायतका जीवले प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले परम्परागत रूपमा तिनको संरक्षण र सम्मान गर्ने संस्कार विकास भएको मानिन्छ ।
नागपञ्चमीसँगै वैदिक सनातन धर्मावलम्बीका प्रमुख चाडपर्वको यामसमेत सुरु हुने गर्दछ ।


