
झापा, ४ भदौ । झापामा प्रहरीले ११ ग्राम १५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ चोलुङटोलस्थित टुक्रे बजारमा चेकजाँच गर्ने क्रममा मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
इलाम जिल्लाको पेल्टिमारीबाट कमल हुँदै दमकतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार तीन जनामाथि शंका लागेपछि प्रहरीले तलासी लिएको थियो। उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित १७ ग्राम ९६० मिलिग्राम र प्लास्टिकबाहेक ११ ग्राम १५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका २४ वर्षीय निरज तामाङ, सोही स्थानका २० वर्षीय दिवान आङथुपो र ३१ वर्षीय कमल तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई प्रयोग गर्ने मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


