
भद्रपुर, ४ भदौ । झापाको भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ।
गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार भद्रपुर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाले नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरेको हो।
नेपालकै चौथो नगरपालिका तथा विसं २००८ मै नगरपालिका बनेको ऐतिहासिकतालाई दृष्टिगत गर्दै हाल कायम भद्रपुर नगरपालिकाको भूगोललाई यथावत् राखी सीमाना जोडिएका भूगोललाई आवश्यकता र सहमतिका आधारमा समावेश गरेर उपमहानगरपालिका कायम गर्न सिफारिस गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता तथा सहजीकरणमा भएको भेलामा उपप्रमुख राधा कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वनगरप्रमुख, वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, उद्योगी तथा सञ्चारकर्मीको सहभागिता थियो।
भेलामा सहभागीहरूले भद्रपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने विषयमा समान धारणा राखेका थिए। सोहीअनुसार उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो।
त्यस्तै, भद्रपुर–७ को एक भाग मेची नदीपारि रहेकाले सीमाना जोडिएको वडा नं। ५ मा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको छ। भद्रपुर–९ र १० लाई संघीय निर्वाचन क्षेत्र नं। १ मा राखिएकोमा ती दुवै वडालाई निर्वाचन क्षेत्र नं। ३ मै कायम गर्नुपर्ने र आवश्यक सीमाना हेरफेर गर्नुपर्ने निर्णय पनि गरिएको छ।
सीमाना हेरफेर आवश्यक देखिएका वडाका क्षेत्रलाई स्थानीय जनता तथा सम्बन्धित वडाको राय लिएर एक–अर्कामा समायोजन गर्न सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो।
छलफलअघि नगरपालिकाका अधिकृत नेत्र पोखरेलले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर तथा नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ का विषयमा जानकारी गराउनुभएको थियो।


