
गोपाल पोखरेल
झापा, ४ भदौ । झापाको हल्दीबारी गाउँपालिकाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको प्रवेश बढेपछि स्थानीयवासी त्रसित भएका छन्। चार दिनयता रातिको समयमा बस्तीमा पस्ने हात्तीले घर, गोठ, पसल, मन्दिर तथा सार्वजनिक संरचनामा क्षति पुर्याउँदै आएको छ।
आइतबार राति अर्जुन खड्काको गोठ र पसलमा प्रवेश गरेको हात्तीले अन्नबाली नष्ट गरेको थियो। सोमबार राति हल्दीबारी–३ स्थित श्री सुरेश्वर स्वर्गद्वारी शिव मन्दिर परिसरमा पुगेको हात्तीले त्यहाँका संरचनामा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
मंगलबार राति पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय स्थलमा पुगेको हात्तीको समूहले कम्पाउन्ड वाल भत्काएको थियो।
बुधबार राति पनि हात्तीले बस्तीका घर तथा अन्य संरचनामा क्षति पुर्याएको छ। डिल्लीराम ढुङ्गेल र गिरिजा महतोको घरमा क्षति पुगेको छ भने सोरेन मेचेको घरको दिवाल भत्किएको छ। त्यस्तै, सुनिल मेचेको घरको मुख्य प्रवेशद्वार र कम्पाउन्ड वालमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।
हात्तीले श्री पञ्चायत माध्यमिक विद्यालयको मुख्य गेटसमेत तोडफोड गरेको छ। लगातार रातिको समयमा हात्ती बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासी घरपरिवार र सम्पत्तिको सुरक्षाका लागि रातभर जाग्राम बस्न बाध्य भएका छन्।
हात्तीको उपद्रो बढ्दै गएपछि थप क्षति रोक्न तथा स्थानीयवासीको सुरक्षाका लागि तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन्।


