
शिवसताक्षी, ४ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजित सार्वजनिक खरिद ऐन तथा नियमावलीसम्बन्धी चारदिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
नगरपालिकाको कार्यालयमा सोमबारदेखि सञ्चालन भएको कार्यक्रममा सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित, पारदर्शी, कानुनसम्मत र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सार्वजनिक खरिदका प्रकार तथा विधि, खरिद समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना, प्राविधिक विवरण तथा लागत अनुमान तयार गर्ने प्रक्रिया, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको समापनमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले समयअनुसार ऐन, नियम तथा कार्यविधि संशोधन भइरहने भएकाले कर्मचारीको क्षमता अभिवृद्धि र सेवा प्रवाह प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो। उहाँले कर्मचारीले भावनाभन्दा कानुनलाई आधार बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
अभिमुखीकरणका सहभागी इन्जिनियर कृष्ण राई र जनस्वास्थ्य निरीक्षक सारङ्गा तामाङले प्रशिक्षणबाट प्राप्त सिकाइबारे धारणा राख्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले कार्यक्रमले सार्वजनिक खरिदसम्बन्धी काममा कर्मचारीलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो।
चारदिने कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव तथा सार्वजनिक खरिदसम्बन्धी काममा प्रत्यक्ष संलग्न कर्मचारीको सहभागिता रहेको थियो। लक्ष्मण खतिवडा र नवानित तिवारीले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत महेश लामिछानेले गर्नुभएको थियो।
यसैबीच, कार्यक्रममा अन्य स्थानीय तहबाट शिवसताक्षी नगरपालिकामा सरुवा भएर आएका सात जना कर्मचारीलाई स्वागत गरिएको छ। नगरप्रमुख थोप्रा, प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङफे तथा वडाध्यक्ष भवानी विक्रम चेम्जोङलगायतले उनीहरूलाई अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो।
नगरपालिकाका अनुसार कमला पाण्डे, दिक्षा भण्डारी, अमितकुमार यादव, महोमद उमर मन्सुर, कुलबहादुर बुढा, पूजा गिरी र सारङ्गा तामाङ नयाँ कर्मचारीका रूपमा शिवसताक्षीमा सरुवा भएर आउनुभएको हो। नयाँ कर्मचारीको आगमनसँगै सेवा प्रवाह र कार्यालयको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।


