बुधबारे, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ नम्बर वडा कार्यालयले वडाभित्रका विद्यालयमा दैनिक पठनपाठन सुरु हुनुअघि ‘एक मिनेट’ समय प्रेरणादायी सन्देशका लागि उपलब्ध गराउन आग्रह गरेको छ ।
विद्यालयको दैनिक शैक्षिक सत्रबाट एक मिनेट समय उपलब्ध गराइदिन आग्रह गर्दै प्रधानाध्यापकहरूलाई पत्र पठाइएको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको अतिरिक्त तथा प्रारम्भिक क्षमतामा उत्कृष्टता हासिल गराउन शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षाको विकास र जनशक्ति निर्माणमा शिक्षकले पुर्याउँदै आएको योगदानको उच्च सम्मान गरिएको छ ।

पत्रमा विद्यार्थीको जीवनमा सफल बन्ने र देशको योग्य नागरिक बन्ने ठूलो सपना हुने उल्लेख गर्दै समय र परिस्थितिका कारण कतिपय विद्यार्थीले आफ्ना सपना बीचमै छाड्नुपर्ने अवस्था आउने बताइएको छ । विद्यार्थीलाई आफ्नो लक्ष्य प्राप्तिको मार्गमा निरन्तर अघि बढ्ने ऊर्जा, साहस र दृढता प्रदान गर्न शिक्षकको प्रेरणादायी भूमिका महत्वपूर्ण हुने वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले वडाभित्रका सम्पूर्ण विद्यालयका लागि विशेष प्रेरणादायी ब्यानरसमेत तयार गरी पठाएको जनाएको छ। उक्त ब्यानर शिक्षक कक्ष ९स्टाफ रुम० मा सबैले स्पष्ट रूपमा देख्ने गरी राख्न र प्रत्येक दिन पहिलो घण्टी अर्थात् ‘फर्स्ट पिरियड’ सुरु हुनुअघि शिक्षकहरूले ब्यानरमा उल्लेखित सन्देश एक मिनेट पढेर मात्र कक्षाकोठामा प्रवेश गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी, सबै शिक्षकको उपस्थितिमा पत्रको व्यहोरा वाचन गरी शिक्षक कक्षमा ब्यानर स्थापना गर्न र दैनिक एक मिनेटको समय व्यवस्थापन गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
वडा कार्यालयका अनुसार माग गरिएको एक मिनेट समय व्यवस्थापन गर्न नसकिने भए त्यसको स्पष्ट कारणसहित जानकारी गराई सहयोग गर्नसमेत आग्रह गरिएको छ । वडा कार्यालयले विद्यालय र शिक्षकलाई यस अभियानमा सहयोग गरिदिन अनुरोध गर्दै शिक्षण पेसामा आबद्ध शिक्षकप्रति उच्च सम्मान व्यक्त गरेको छ । वडा कार्यालयले यस्तो पहलले विद्यार्थीमा सकारात्मक सोच, प्रेरणा, लक्ष्यप्रतिको दृढता तथा आत्मविश्वास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।



