
राजेश ढुंगाना
कांग्रेस विवादले पुनः अदालतमा प्रवेश पाएको छ । यसअघि नै अदालतले एक पटक गरिसकेको विषयमा फेरि अदालतको प्रवेश कांग्रेसका दुई वटै पक्षका हकमा अनिष्ट हो । हार–जीत जसको भए पनि अब आउने अदालतको फैसलाले सिङ्गो कांग्रेस भने हार्ने छ ।
अदालतको पुरानै निर्णय कायम रह्यो भने पनि इतर पक्षले हार्ने छ । होइन, नयाँ निर्णय आयो भने पनि संस्थापन पक्षले हार्ने छ । यसमा कांग्रेसको जीत कहीँ कतै देखिन्न । अर्थात्, कांग्रेस विवाद अदालतमा प्रवेश हुनु नै कांग्रेसका निमित्त दुर्भाग्य हो । राजनीतिक रूपमा समाधान गरिनु पर्ने विषयमा अदालतको निरीह ढोका अघिल्तिर उभिनु नै सिंगो कांग्रेसको पराजय हो । अर्को तर्फ, कांग्रेसको विषयमा पटक–पटक प्रवेश गरेर अदालत पनि विवादमा परेको छ ।
लामो समयको प्रवासपछि शेरबहादुर देउवाको स्वदेश आगमनपछि पराजयको मानसिकता भोगिरहेका कांग्रेस इतर पक्षले राहत महसूस गरेको छ । तर, यो राहत पनि कति दिनका लागि हो — त्यसको कुनै टुङ्गो छैन । अदालतले इतर पक्षको पक्षमा फैसला गरे पनि कांग्रेस विवाद अझ गहिरो हुने पक्का छ । अदालतले पुरानै निर्णय कायम गरेर गयो भने पनि कांग्रेस विवादमा कुनै त्यस्तो तात्विक अन्तर पर्ने देखिन्न । कांग्रेस विवाद त राजनीतिक (अझ अराजनीतिक !) विषय हो ।
बितेका ३५ वर्षको क्रियाकलापले कांग्रेस फोहोरको डङ्गुर भएको तथ्यलाई अदालतले टुङ्गो लगाउन सक्छ ? त्यो त एउटा प्राविधिक फैसला हुन सक्ला– कांग्रेसका लागि; नवजीवन हुन सक्दैन । राजनीतिक दलबाट स्वार्थ समूहको गठजोड बनिसकेको कांग्रेसले पुनर्जीवन पाउने कुरामा कुनै बलियो आधार देखिन्न ।
पाँच–पाँच पटक प्रधानमन्त्री भइसकेर चरम आर्थिक घोटाला र अन्य तमाम बेथितिमा मुलुकलाई पु¥याउने खलपात्र देउवाको आगमनपछि राहत महसूस गरेका इत्तर पक्षले शेरबहादुर र आफ्नै विगतलाई ऐनामा हेर्दा देखिने घिनलाग्दो अनुहारलाई सम्झने हो भने शेरबहादुरमा जीवनको त्राण देख्नु हाँस्यास्पद विषय हो । यो पक्षमा अहिले देखिएको उत्साहको धिपधिपेलाई अदालतले पनि उज्यालोमा परिणत गर्न सक्दैन !
शेरबहादुरसँग अब स्वार्थी समूह मात्र छ; जसले उनको नाममा यतिका दशकसम्म राजनीतिक र आर्थिक रजगज ग¥यो । यो समूहले कार्यकर्ता र जनता गुमाइसकेको छ । राजनीतिक सत्व गुमाइसकेको सिङ्गो कांग्रेसमा अघि–अघि कांग्रेसको पार्टी कब्जा गर्न अदालत निर्णायक भएपछि पुनः राजनीतिको पतन भएको छ ।
देउवाले स्वदेश आगमनपछि दिएको लामो र लोभलाग्दो वक्तव्यलाई त्यही दिन आफैले खण्डन गरेका छन् । उनले जीवनको यो उत्तरार्धमा आफू अब पार्टीको अभिभावकीय रूपमा रहने घोषणा गरेको भए, अझ राजनीतिबाट सन्यास नै लिने घोषणा गरेको भए सर्वथा उपयुक्त र अत्युत्तम हुने थियो । तर, उनले त्यसो नगरेर आफ्नै लोभलाग्दो ‘वक्तव्य’का खिलाफमा जुन एक पक्षको नेता बने; त्यसले कांग्रेस एकतालाई मात्र तुषारापात गरेन, देउवा स्वयम्को राजनीतिक अवसान पनि अत्यन्त दुर्दान्त हुने पक्का भएको छ । पाँच खेप प्रधानमन्त्री भइसकेको ८० वर्षे उमेरमा पनि हिजोका आफ्नै ठिटाहरूसँग पौंठेजोरी खेल्नु र खेलिरहनु उनका लागि प्रत्युत्पादक भएको कुरा उनले अझै बुझ्न सकेनन् !
शेरबहादुरका पक्षमा रहेका अनुहार जनताबाट तिरष्कृत र बहिष्कृत अनुहारहरू हुन् भन्ने ठोकुवा गर्नु कुनै अत्युक्ति हुँदैन । शेरबहादुर झैं बदनाम यी पात्रहरूले शेरबहादुरको डुब्ते नैया पार लगाउने छन् भन्ने कुरा स्वयम् हाँस्यास्पद छ । शेरबहादुर आफै खलपात्र र त्यसमाथि उनीसँग उभिएका लामो समयदेखिका मतियारहरूको अनुहारलाई अब जनताले फेरि र फेरि पनि अनुमोदन गर्ने छन् भन्ने दिवास्वप्नमा रहेका यो समूहले अदालतबाट प्राविधिक मान्यता पायो नै भने पनि त्यो दीर्घ र टिकाउ हुने छैन । जनताभन्दा ठूलो अदालत राजनीतिमा अर्को कुनै र केही हुँदैन ।
अर्का तर्फ, विशेष महाधिवेशनवालाहरू छन् । सिंगो कांग्रेस नै पतन भइसकेको परिप्रेक्ष्यमा हालसम्म कानूनी र अलि–अलि राजनीतिक शाख समेत जोगाउन सक्षम यो समूहका चुनौतिहरू पनि कम छैनन् । नेपालको राजनीतिक खेलाडीबाट दर्शक दीर्घामा पुगेर टुलुटुलु खेल हेर्न बाध्य कांग्रेसलाई यो पक्षले कसरी कांग्रेसलाई पुनः एक पटक राजनीतिक खेलाडी बनाउने हो ?— यो प्रश्नको उत्तर पनि अत्यन्त दुरुह नै छ ।
समग्रमा भन्नुपर्दा, अदालतको फैसला जे र जसको पक्षमा आए पनि त्यो फैसला सिङ्गो कांग्रेसको पराजयकै फैसला हुने छ – राजनीतिमा त्यसै पनि पराजित कांग्रेसका लागि ! साप्ताहिक समाचारबाट


