झापा, ९ भदौ । झापाको दमकमा १३ वर्षीया बालिकालाई ललाइफकाइ होटलमा पुर्याएर यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिका र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्।

प्रहरीका अनुसार गत साउन ३१ गते घरबाट हिँडेपछि सम्पर्कविहीन भएकी बालिकाको खोजतलासका लागि आफन्तले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। प्रहरीले खोजी गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो।
अनुसन्धानका क्रममा पार्वती ऋषिकाले बालिकालाई ललाइफकाइ गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्याएको खुलेको प्रहरीले जनाएको छ। उक्त होटलमा बालिकालाई यौन शोषणमा लगाइएको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



