
झापा, ११ भदौ । भोटेकोशीमा आएको बाढीमा कोशी प्रदेशका विभिन्न जिल्लामा गरी १३० जना व्यक्ति हराएको विवरण प्राप्त भएको छ । हराएकामध्ये हालसम्म ८ जना सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालय बिहीबार राति ८ बजे जारी गरेको विवरण अनुसार सबैभन्दा बढी सोलुखुम्बुमा ३८ जना हराएका छन् । त्यस्तै सुनसरीमा १७, मोरङमा १४, उदयपुरमा १३, ओखलढुङ्गामा १२, इलाममा ९, झापा र खोटाङमा ८–८, ताप्लेजुङमा ६, संखुवासभामा ३, धनकुटा र भोजपुरमा १–१ जना हराएको छन् ।
पाँचथर र तेह्रथुम जिल्लामा भने हराएको व्यक्तिको संख्या उल्लेख गरिएको छैन । प्राप्त विवरणअनुसार इलामबाट हराएका ९ जनामध्ये १ जना, सुनसरीका १७ जनामध्ये २ जना, उदयपुरका १३ जनामध्ये ३ जना, ओखलढुङ्गाका १२ जनामध्ये १ जना र सोलुखुम्बुका ३८ जनामध्ये १ जना सम्पर्कमा आएका छन् ।
जिल्लागत विवरणअनुसार हालसम्म १३० जना हराएको र ८ जना सम्पर्कमा आएको जनाइएको छ । हराएका अन्य व्यक्तिको खोजी तथा उनीहरूका परिवारसँग सम्पर्कको प्रयास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाइएको छ ।


