
भद्रपुर, १३ भदौ । झापाको सदरमुकाम भद्रपुरमा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो पटक भद्रपुर–४ लक्ष्मीनगर टोलमा एकै रात तीन घरमा चोरी भएको छ।
बिहीबार बिहान करिब २ बजेदेखि ३ः३० बजेको बीचमा तीन घरमा चोरी भएको हो। स्थानीय रोहित काफ्लेको घरबाट सामसुङ ए–२६ मोबाइल चोरी भएको छ। काफ्लेको घरसँगै जोडिएको गीता कार्कीको घरबाट रेडमी मोबाइल र करिब १८ हजार रुपैयाँ नगद चोरी भएको पीडितले बताएका छन्।
त्यस्तै, दक्षिण–पश्चिम थापाको घरबाट पनि रेडमी मोबाइल र करिब ९ हजार रुपैयाँ नगद चोरी भएको छ।
पीडितका अनुसार घरमा मानिसहरू सुतिरहेको अवस्थामा खाटको सिरानमा राखिएका मोबाइल तथा नगद चोरी भएको हो। चोरीका सम्बन्धमा महेशपुर प्रहरी चौकीमार्फत वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको रोहित काफ्लेले जानकारी दिए।
यसअघि केही दिनअघिमात्रै भद्रपुर–४ का विमल घिमिरेको मोबाइल चोरी भएको थियो। त्यस्तै, भद्रपुर–६ मा खतिवडा थरका एक व्यक्तिको पनि मोबाइल चोरी भएको स्थानीयले बताएका छन्।
भद्रपुरमा दिनहुँजसो मोबाइल, नगदलगायतका सामान चोरी हुन थालेपछि लक्ष्मीनगर टोलका बासिन्दा त्रसित बनेका छन्। स्थानीयले चोरी नियन्त्रणका लागि रातको समयमा प्रहरी गस्ती बढाउन प्रहरी–प्रशासनसँग माग गरेका छन्।


