भद्रपुर, १४ भदौ । वर्तमान साहित्य प्रतिष्ठान, भद्रपुर–१० को २९औँ वार्षिकोत्सव विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित चन्द्रगढीमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कविता वाचन, गायन तथा प्रवचनलगायतका कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.रत्नमणि नेपालले स्थापनाकालदेखि हालसम्म प्रतिष्ठानले गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए । उनले युवा तथा विद्यार्थीका मनोभावना समेट्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिन र ‘वर्तमान’ पत्रिकाको प्रकाशन अभियानलाई अघि बढाइरहेको बताए ।
कार्यक्रममा चिन्तामणि दाहाल, मोहन काजी, कृष्ण बराल, कुमार भट्टराई, नवराज घिमिरेलगायतले धारणा राख्दै झापाको सदरमुकाम चन्द्रगढीमा रहेर वर्तमान साहित्य प्रतिष्ठानले भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
त्यसैगरी, गजलकार केशव आचार्य, कवि हरिप्रसाद न्यौपाने, उषा गुरुङ, कृष्ण सुवेदी ‘निराकार’, गीता सुवेदी लगायतले आफ्ना काव्यरचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायक निरज पोखरेल, डिल्ली नेपाल लगायतले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विकास पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने महेन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।


