
झापा, २० भदौ । भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस अवसरमा झापाका विभिन्न स्थानमा श्रीकृष्णको झाँकीसहित रथयात्रा तथा शोभायात्रा निकालिँदैछ । झापाको भद्रपुर, शिवसताक्षी लगायतका स्थानमा रथायात्रा एवम् शोभायात्रा निकालिँदैछ ।
भाद्र कृष्ण नवमीका दिन कृष्ण मन्दिरमा विशेष पूजाअर्चना तथा रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ। पाप र अधर्मको अन्त्य गरी सज्जन तथा धर्मको रक्षा गर्न भगवान् श्रीकृष्णले अवतार लिएको धार्मिक विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
धार्मिक ग्रन्थहरूमा बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको उल्लेख छ। कुरुक्षेत्रमा अर्जुनलाई दिएको उपदेशमा समेत श्रीकृष्णले धर्मको रक्षा र अधर्मको विनाशका लागि युग–युगमा अवतार लिने सन्देश दिनुभएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजाअर्चना, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन् ।


