झापा, २१ भदौ । झापामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मेचीनगर र शरणामतीबाट पक्राउ परेका उनीहरूको साथबाट ७ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
भदौ २० गते मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर–१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरी चौकी शरणामतीको टोलीले बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैबीच, तेह्रथुमबाट ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेटसहित धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २९ वर्षीय सुजित भण्डारी पक्राउ परेका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट पनि कानेपोखरी गाउँपालिका–४ का ३४ वर्षीय राजकुमार लिम्बु ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



