
झापा, २२ भदौ । अन्तर्राष्ट्रिय झापाली समाजले भोटेकोशी बाढी पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँईको नेतृत्वमा रहेको टिमले सोमवार सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई मन्त्रालयमा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीको महाविपत्तिमा ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय संकटको घडीमा विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुकातर्फबाट सरकारलाई सहयोग गरिएको अध्यक्ष चम्लागाँईले बताए । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय झापाली समाजको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।
अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट अध्यक्ष चम्लागाँईसहित संस्थापक अध्यक्ष, संरक्षक एवम् गैरआवासीय नेपाली संघका उपाध्यक्ष दिनेश पोखरेल, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष तथा संरक्षक मुकुन्द ढुंगाना, झापा ३का संघीय सांसद प्रकाश पाठक, अन्तर्राष्ट्रिय झापाली समाज नेपाल समन्वय समितिका संयोजक राजु थापा, झापाली समाज अमेरिकाबाट डिल्ली थापा, झापाली समाज अष्ट्रेलियाबाट मदन धौराली तथा प्रेम चौलागाँई लगायतको सहभागिता थियो ।
उक्त अवसरमा झापाली समाज अष्ट्रेलियाको तर्फबाट ११ हजार ४ सय ६१ अष्ट्रेलियन डलर समेत हस्तान्तरण गरियो । मुलुकमा आइपर्ने विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजले यसअघि पनि महत्वपूर्ण सहयोग र सहकार्य गर्दै आएको छ ।
नेपालीहरुमाथिको पीडामा आफूहरु पनि साथै रहेको अनुभूति दिलाउन हरेक विपत्तिमा सहयोग गर्दै आएको समाजका महासचिव चिरन खवासले बताए ।


