
झापा, ५ असोज । कोशी प्रदेशमा २० लाख ६३ हजार ७२५ जनाले जीवन बीमा गराएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ।
देशभर सङ्कलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको हिस्सा १२ दशमलव ३० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। प्रदेशमा बीमा कम्पनीका ३०३ कार्यालय सञ्चालनमा छन् भने ७७१ कर्मचारी कार्यरत छन्।
निर्जीवन बीमातर्फ भने कोशीमा ४ लाख ४९ हजार ४२७ वटा बीमा भएका छन्। यसबाट करिब ४ अर्ब रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ। जीवन बीमाको तुलनामा निर्जीवन बीमाको पहुँच निकै कम रहेको तथ्याङ्कले देखाएको छ।
प्राधिकरणका अनुसार प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटीसम्बन्धी १९ हजार ९० वटा बीमा भएका छन्। यसबाट २३ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ। त्यसमध्ये बाली बीमा भने ६११ वटा मात्र छन्।
सरकारले कृषि बीमामा ५० देखि ८० प्रतिशतसम्म अनुदान दिँदै आए पनि बाली बीमाको संख्या न्यून रहेको प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईले बताए। उनका अनुसार बीमाको महत्व र सेवाबारे ग्रामीण तहसम्म जानकारी पुर्याउन आवश्यक छ।
प्राधिकरण विराटनगर कार्यालयका निर्देशक राजेन्द्र महर्जनका अनुसार नेपालमा हाल ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ जीवन, १४ निर्जीवन, दुई पुनर्बीमा र सात लघुबीमा कम्पनी छन्।
यसैबीच, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले प्रदेशका १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जनाएको छ। महासङ्घका प्रदेश अध्यक्ष भरत खड्काका अनुसार प्रदेश सरकारसँगको समन्वयमा प्रतिपत्रकार १० लाख रुपैयाँसम्मको जोखिम बहन हुने गरी बीमा गरिएको हो।


