
झापा, १६ असोज । झापास्थित मेची आँखा अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी तथा चिकित्सक भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित ‘आईएसीओआईएन अवार्ड’बाट सम्मानित भएका छन्।
कोलकातास्थित न्यू टाउन कन्भेन्सन सेन्टरमा सम्पन्न ‘एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डिया’को २५औँ अन्तर्राष्ट्रिय भेला तथा १६औँ वार्षिक सम्मेलनमा उनीहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि भारतका पूर्व राष्ट्रपति रामनाथ कोविन्द र विशिष्ट अतिथि नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादवले संयुक्त रूपमा अवार्ड प्रदान गरेका थिए।
सामुदायिक आँखा स्वास्थ्य सेवामा योगदान पुर्याएको भन्दै मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. पुरुषोत्तम जोशीलाई गोल्डेन अवार्ड प्रदान गरिएको छ।
त्यस्तै, दूरदराजका क्षेत्रमा आँखा स्वास्थ्य सेवा विस्तारमा सक्रिय आउटरिच कोर्डिनेटर कविता कार्कीलाई सिल्भर अवार्ड र क्लिनिकल दक्षता तथा योगदानको कदर गर्दै वरिष्ठ चिकित्सक डा. सुनु दुलाललाई विशेष अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको अस्पतालले जनाएको छ।
नेपाल, भारत, बङ्गलादेश र भुटानसहित आठ देशका आँखा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको सम्मेलनमा मेची आँखा अस्पतालका तीन जनाले विभिन्न विधामा सम्मान प्राप्त गरेका हुन्।
अन्तर्राष्ट्रिय सम्मेलनमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मानित भएपछि मेची आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जलकुमार गुरुङले खुसी व्यक्त गरेका छन्।
उनले प्राप्त सम्मानले अस्पतालबाट प्रदान हुँदै आएको आँखा स्वास्थ्य सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिलाएको बताए। सम्मानले आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रेरणा मिलेको उनको भनाइ छ।
झापामा मुख्य कार्यालय रहेको मेची आँखा अस्पतालले पूर्वी नेपालका विभिन्न जिल्लासँगै छिमेकी मुलुकका नागरिकलाई समेत आँखा उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।


