
झापा, १८ असोज । देशका विभिन्न भूभागमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी तथा तराई भूभागमा र कोशी तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
राति मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा सुदूरपश्चिमको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।


