
झापा, १९ असोज । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण तथा अनुगमन गरेका छन्।
निरीक्षणका क्रममा डीआईजी खनालले कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए।
उनले पहाडी तथा दुर्गम गाउँबस्तीमा रहेका नागरिकलाई सहज र सुलभ रूपमा प्रहरी सेवा उपलब्ध गराउन निर्देशन दिए। नियमित प्रहरी गस्ती परिचालन गरी नागरिकका पीरमर्का तथा गुनासा सुन्न र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्न पनि उनले निर्देशन दिएका छन्।
नजिकिँदै गरेको चाडपर्वलाई सुरक्षित र हर्षोल्लासमय बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गर्न तथा संवेदनशील एवं बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन उनले निर्देशन दिए।
प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर काम गर्न निर्देशन दिँदै खनालले कार्यसम्पादन सम्झौता तथा अटोमेसनमा उल्लेखित विषयमा केन्द्रित भएर प्रहरी कार्य गर्न आग्रह गरे। प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दाको फर्छ्योट तथा बढ्दो लागूऔषध प्रयोग र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिए।
समाजमा बढ्दै गएका अपराध तथा सुरक्षा चुनौती न्यूनीकरणमा पूर्वप्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदानप्रदानमा पूर्वप्रहरी कर्मचारीबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।
स्थानीय बासिन्दा र नागरिक समाजसँग अन्तरक्रिया
निरीक्षण भ्रमणकै क्रममा डीआईजी खनालले जिल्लाका स्थानीय बासिन्दा तथा नागरिक समाजका प्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।
अन्तरक्रियामा स्थानीयले जिल्लाको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा प्रहरी–समुदाय सम्बन्धलगायत विषयमा आफ्ना धारणा, सुझाव र अपेक्षा राखेका थिए।
डीआईजी खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ, विश्वासिलो र सहकार्यात्मक बनाउन यस्ता अन्तरक्रिया महत्वपूर्ण रहेको बताए। नागरिकका वास्तविक समस्या, गुनासा र अपेक्षालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
पूर्वप्रहरी कर्मचारीसँग पनि भेटघाट
खनालले संखुवासभाका पूर्वप्रहरी कर्मचारीसँग समेत भेटघाट तथा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा पूर्वप्रहरी कर्मचारीले आफ्नो सेवाकालका अनुभव तथा जिल्लाको शान्ति–सुरक्षासँग सम्बन्धित सुझाव र अपेक्षा राखेका थिए।
प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी संगठनमा कार्यरत रहँदा राष्ट्र, समाज र नागरिकको सुरक्षामा पुर्याएको योगदानप्रति पूर्वप्रहरी कर्मचारीलाई सम्मान व्यक्त गरे। उनीहरूका अनुभव, सुझाव र रचनात्मक भूमिकालाई प्रहरी संगठनको हितमा उपयोग गर्दै अघि बढ्ने उनले बताए।
भेटघाटले पूर्वप्रहरी कर्मचारी र बहालवाला प्रहरीबीचको आत्मीयता, सहकार्य तथा संस्थागत सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत उनले व्यक्त गरे।


