
व्यंंग्यनारान पाँडे
“हओ पाँडेजी, बाइर–बाइर सुनेको मैले कि – यी बालिन सा’ र रभि लाम्छ्यानेको पोल्टिकल हन्जाले त यो एत्रो तीन कडोर जन्सङ्खे भ’को देश चलाउन सक्तैनन् भन्ने नि’कर्स निस्को अरे त हओ ? यो कुरो अच्कल हामेरका ‘कम्तीमा जम्मै’ र पर्चन्न कम्रेटका पनि कोइकुछ कम्रेट अनित्याँड वारिपारिकै मधेस छेत्रका काम्रेटहर्ले समाझिक सन्झालहेरूमा छ्याप्छ्याप्ती पोस्ट्या’को देखिराख्या छु मैले ! हुन पनि कुरो अन्करेक् नहोला भन्छु क्या म । र, अब हामेरको पालो त आयो जस्तो अन्नेज गर्न पो थालें लु मैले चइँ ।”– आँगनैदेखि फलाक्तै ऐसेलु झाँगेले बार्दलीमा उक्लेपछि एउटा कुर्सी समाएर बस्दै थप्यो– “साँची अस्ति कुन एकारातीको बार–तेर बजीको ट्याममा साख्खै हामेरका भूतपूर्वक पर्दान न्याइढीस चोल्यान्द्र राणालाई एरेस गरेछन् क्या बालिन सा’का प्ररीहर्ले । तपइँलाई था भो कि था पा’का छइनऊ ?”
पाँडेले जवाफ दियो– ‘किन नहुनु थाहा ? हिजोआज काठमाडौंको त्रिभुवन एयरपोर्टमा केही ग्राम हेरोइन पक्रेको समाचार भएन भने रेडियो–टीभी बिचराहरूको छाक नपुग्ने समय छ भने उत्रो ठूलो मान्छे पक्रेको समाचार…’
उसले उछिन्दै भन्यो– “ए तेसो भा, मैले मेरो यो अैलेको डौडधुपको ब्यास्ततामा बिज्जी भ’का कारन तो घटनाको एउडा उधुमै इन्पोरट्यान टपिक् किल्लेरसील बुद्न नपा’को थेँ कि ?”
पेटमा भोटेकोशी–बाढी जत्तिकै हन्हुनाएको हाँसो नियन्त्रण गर्दै पाँडेले सोध्यो– ‘के कुरा ?’
उसले फेरि तुरुन्तै सोध्यो– “रासोपाका अदच्छे क्या त रभि लाम्छ्याने ? हो उनलाई पोरप्रार उन्को निजा घरमा उसरी नै निदाइराख्या बेला, मद्दे रातीको ट्याममा, ओछेनबडै उठा’र पक्रेका थे । तो हिस्टोरी पनि था होला नि तपइँलाई ?”
पाँडेले भन्यो– ‘त्यो पनि थाहा छ । दुनियाँलाई थाहा भएको कुरो मलाई थाहा नहुने के कुरा ?’
उसले प्रश्न खाप्यो– “तेसो भादेखुन्, तेसरी दलबलसइत पुगेको गिर्येमन्त्रीको आदेशमा प्ररीका डेस्पीले रभि लाम्छ्यानेलाई पक्रिरँदा ‘तपइँको अन्तिम इक्छा के छ ?’ भन्र फाँसी दिन लागेको अप्रादीलाई पोडेले सोदेझ्याइँ ‘अन्तिम इक्छा’ सोदेको डाइलोक पनि था होला नि ?”
पाँडेले दिक्क मान्दै भन्यो– ‘हन तिमी बिहारी पुलिसले पाकेटमारको बयान लिएजस्तो बयान किन लिँदैछौ मेरो, हँ…? के जान्न खोजेको त्यो सोध न !’
उसले पाँडेको अनुहारतिर हेरेपछि, के अज्मायो कोनि, अलिक धकाएजस्तो भयो र घाँटी बजाएर थुक निलेपछि भन्यो– “तपइँ पनि बेहारतिर पागिट मार्न गका थेउ र तेताको पुलिसको बइनको अनुभौउ चाखेजस्तो कुरो चइँ नगर न !…था छैन भने छैन भन, कुरै फिनिस्टिन्छ क्यारे । होइन भने मैले धाएर आफै तपइँकाँ आइदेर एक्दोडा कुरा पनि सोद्न नपाउनु यो लो’तन्त्रको कन्टोलको ट्याममा ?”
त्यसका गाला चड्काइदिने झ्वाँक चलेको थियो पाँडेलाई, तर धीर हुँदै भन्यो– ‘कुरो दशतिर नबटारिकन के जान्न चाहेको हो, त्यही चाहिँ सोध न !’
तब उसले भन्यो– “अनि हामेरका चोल्यान्द्रलाई त पक्रिन गका प्ररी जथ्थाका कमान्डर साहेपले ‘अन्तिम इक्छा के छ ?’ भन्र सोदेनछन् त ? खोइ तेस्तो इनफोरमिसिन मकाँ त आ’ न त अन्तखेरि ?”
पाँडेले भन्यो– ‘कोनि त ?’
उसले भन्यो– “राती सुतेका ठामबड उठा’र हथ्खडी लाइसकेसि रभि लाम्छ्यानेलाई ‘अन्तिम इक्छा’ सोदेर अत्याउँदै खटरा गाडीमा कोचेर अनित्याँड खाल्डाङ र खुल्डुङ हल्लाउँदै हिना’र आर्कै जिल्लाको झ्यालखानमा थुन्न लग्ने प्ररीलाई मानौ अदिकार आयोकका मान्छेले केइ नगर्नु ? र, अैले चोल्यान्द्र राणालाई आर्काे टोलको ठानामा पुगा’र इजोतसात बार घण्ट मात्तै राख्ने प्ररीलाई चइँ चिठ्ठी काटेर बइन लिनु भनेको कस्तो कुरो हो भन्ने ठ्याक्क चइँ अन्मान लाउँछौ तपइँ ?”
पाँडे एकछिन अल्मलियो र प्रश्न ठिकठिकै लागेकाले आफ्नै टाउको सेलाउँदै र हाँस्तै भन्यो– ‘त्यही त भनेको । मानव अधिकार आयोगको नयाँ विधि बनेको होला र त्यसमा ‘ऐन सानालाई मात्र लाग्छ’ भन्ने दफा थपिएको होला कि र त्यो दफा नाङ्गै देखाएर प्रयोग गर्न थालेको पो हो कि ?’
झाँगेले यस्ता कुराको गुदी के बुझोस् ! खिया लागेका दाँत ङिच्च देखाउँदै उल्टै भन्यो– “थुइया तपइँको बुद्दि ! अनि चोल्यान्द्र सम्सेर जङ्घबादुर राणा हामेरकै हन्जाका मान्छे पनि होइनन् त अनि ? ‘कम्रेट’ नै भन्न मात्तै नसकेका बिचारा ! उनी राणा भका नाताले आर्जुको नातोले सेर्बादुर उनका ज्वाइँ–स्वाइँ वा भिनाजु–उनाजु केइ नातो परेको राणे–बाद्देताले एक्खेप हामेरका ‘बा’–लाई सेकिन परेर सेर्बादुरलाई पर्दानमन्त्रीमा पुगाउनु परेको स्यानो नाथे गल्ती न गरेका हुन् उनले । त्यस्तो झिंगे गल्ती, तो पनि नातोको डोरोले नाकी लाग्दा भको गल्ती !…
…अब हेर्लाऊ न– बालिनहेरूलाई राणाशक्ति समेत ला’र सर्खारबड गेगाउटमा पारेसि फेरि हामेरका ‘बा’ पुनहँ ‘मउसुप’–का मउसुपमै बढुवा हुने कुरा ‘हामेरू–हामेरू’–को मुखबिरे सिन्निकेटको आँप चर्चाेमा सिउरली नै भइसकेको छ र तेति भएसि चोल्यान्द्र राणा, पैला बिध्यादेबी भन्डार्नी जस्तरी नै, रास्पतिमा कति बर्खलाई ट्याप्पका ट्याप्प ! अनि तो भबिसेक देखेसि मानौ अदिकार आयोकका जागिरेले प्ररीको बइन लिन नथाले आफ्नो खाइन–पाइनको भभिसेक सुरच्छित हुन्छ त ? तपइँ त बरू ‘अर्गज पत्रकार’–को साटिफिटिक बोकेर सेठ, मिल्वाला, फैक्टोरीवालाहेरूका भेटाघाटा–जम्घट खोद्दै तेस्ता पोरगामको आइटिम एलाउन्स गर्ने ‘च्याम्पिन एलाउन्सरे’ गर्नतिर लाग हओ पाँडेजी ! तेस पेसोबड कति ‘वीरे’–हेरू ‘वीरबादुर’ भइस्या छन् कति !…
…छ्याःकस्तो अल्छी मान्छे !… लु म हिने पनि । याँ दिमाख ख्याउनु त भालूलाई पुरान सुनाउनु जस्तै भो, उखुइ… ! बेकारको फोकट्या सेवा !… बरू जान्छु कैले बेहारीकैतिर र दिमाख सफा गर्ने जुलाफ–पानी टुइँक्क तान्छु ए’दुई गेलास ।… मच्छट पढ्केहेरू त दुर्भेसनी हुन्छन् कमसेकम मेरा रगतबड – दुन्याँले ‘जेइ भ्यासिन’–को सुइया लाउनै नपर्ने, बोटै नाश–मच्छटै अन्भेलिट सालाहरू ! लु खा त !”
अनि, यसरी यस्तो गनगन गर्दै ऊ गइरहेतिर हेर्दै पाँडेले मनमनै भन्यो… ‘यो नेपाली धरतीमा यस्ता बोझ अरू कति होलान् कोनि ! एउटा बोझले सिङ्गै देशैलाई थिचेको थिचेकै छ ! उसैको आङका यी भुसुने जुम्रा पनि गाउँ–समाजका टोलहरू खपिसक्नै छैनन् ! थैट…!!’…


