
झापा, २४ असोज । अर्जुनधारामा आयोजित प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक सालबारी–मिलडाँडा भेट्रान्स क्लबले जितेको छ ।
स्थानीय देउनिया खेलमैदानमा शनिबार भएको फाइनल खेलमा चारपाने युनाइटेड भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । उपाधिसँगै आयोजकले नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गर्दा उपविजेता चारपानेले ३१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।
प्रतिस्पर्धात्मक खेलमा चारपानेले १९औँ मिनेटमा अग्रता लिएको थियो । चारपानेका सुवास आङथुपोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर, खेलको ५१औँ मिनेटमा आयोजकका खेम पोखरेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । प्रतियोगिताका सर्वाधिक गोलकर्ता पोखरेलले टोलीलाई खेलमा फर्काएका थिए ।
निर्धारित समयको खेल बराबरीतर्फ अघि बढिरहेका बेला अतिरिक्त समयमा आयोजकका प्रविण राईले निर्णायक गोल गरे । उनको गोलसँगै आयोजकले उपाधि जित्न सफल भयो । फाइनल खेलको प्लेयर अफ द म्याच आयोजकका दीपक श्रेष्ठ घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता आयोजकका खेम पोखरेल, उत्कृष्ट गोलकिपर आयोजकका किरण जवेगु, उत्कृष्ट डिफेन्डर आयोजकका प्रकाश मेचे, उत्कृष्ट मिडफिल्डर चारपानेका सुदीप श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक आयोजकका नवीन चोङबाङ घोषित भए । उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी आयोजकका प्रविण राई घोषित भए । उनले नगद सात हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा आयोजकसहित बौद्ध भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, बिर्तामोड भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्स गरी आठ टोलीको सहभागिता रहेको थियो ।


