झापा, २६ असोज । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
नवरात्रको पहिलो दिन आइतबार दसैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो । सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार नवरात्रमा दुर्गा भवानीको आराधना गरी पूजा गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।
यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरी तयार पारिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने तथा टीका लगाउने परम्परा छ ।
सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीका रूपमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।


