इलाम, २७ असोज । इलाममा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार असोज १२ गते राति करिब ८ बजे इलाम नगरपालिका–७ स्थित माइस्थान क्षेत्रमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका हुन् । इलाम नगरपालिका–७ निवासी ६० वर्षीय पूर्णबहादुर देवकोटा घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी नाम्सालिङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ हवल्दार गोविन्द्र दकालको नेतृत्वमा खटिएको टोलीले देवकोटाको घरबाट एक थान अवैध भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका देवकोटालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


