बिर्तामोड, २८ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले सामाजिक उत्तरदायित्व लगायत विभिन्न कार्यक्रममा १ करोड ४२ लाख ६७ हजार १८० रुपैयाँ खर्च गरेको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईले वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो ।
संस्थाले मृत्यु वा पूर्ण अशक्तता भएका ४१ जना सदस्यको ५० लाख ६ हजार २११ रुपैयाँ कर्जा मिनाह गरेको उहाँले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि १२ अर्ब ७८ करोड ५५ लाख ४० हजार ७११ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम तय गरेको छ ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको वासलातमा ६.६६ प्रतिशत वृद्धि भई कुल ३ अर्ब ५४ करोड १० लाख १४ हजार ३२६ रुपैयाँ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको शेयर ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैयाँ, बचत २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैयाँ, गैरवित्तीय सम्पत्ति ६ करोड ४२ लाख २४ हजार ७५२ रुपैयाँ र स्थिर सम्पत्ति ६ करोड ५१ लाख ६८ हजार ५४० रुपैयाँ रहेको छ । संस्थाले बाह्य ऋण ६० प्रतिशतभन्दा बढी घटाएको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
झापा, इलाम, मोरङ र पाँचथरमा कार्यक्षेत्र रहेको सिम्रिकमा ७१ हजार २४६ जना शेयर सदस्य रहेका छन् ।


