चारपाने, २ कात्तिक । सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको झापाको बिर्तामोड नगरपालिका–२, चारपानेस्थित जेम्स फिटनेस सेन्टरले बडादसैँको अवसरमा राष्ट्रिय कलाकारसहितको भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ।
महाअष्टमीका दिन आइतबार चारपाने चोकमा आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारहरू गायिका जुनु रिजाल, गायक रामचन्द्र काफ्ले तथा टिकटकर एवं डान्सर सिद्धार्थ क्षेत्रीसहित स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए।
जेम्स फिटनेस सेन्टरका सञ्चालक जेम्स उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए। बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले गायन, नृत्य र हास्यव्यङ्ग्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा कलाकारहरूलाई सम्मानसहित नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
खुला सांगीतिक कार्यक्रम भए पनि आर्थिक अवस्था कमजोर भएका क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले डोनेसन बक्स राखिएको आयोजक जेम्स फिटनेस सेन्टरका सञ्चालक उप्रेतीले बताए। उनका अनुसार उक्त बक्समा संकलित रकम २० वर्षमुनिका आर्थिक अवस्था कमजोर भएका क्यान्सरपीडितलाई सहयोग गर्न प्रयोग गरिनेछ। डोनेसन बक्समा प्रमुख अतिथि संग्रौलाले समेत आर्थिक सहयोग गरेका थिए।
कार्यक्रममा सामाजिक तथा राजनीतिक नेतृ पार्वता भारती गिरीले स्वागत मन्तव्य राखेकी थिइन्। प्रमुख अतिथि संग्रौला, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सामाजिक व्यक्तित्वहरू बालकृष्ण गिरी, डिल्लीराम सिटौला र डम्बर देउजालगायतको आतिथ्य रहेको थियो। कार्यक्रमलाई मेची आँखा अस्पताल, बिर्तामोड नगरपालिका, सहारा नेपाल साकोस र पापाज क्याफेलगायतले सहयोग गरेका थिए।
जेम्स फिटनेस सेन्टरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। सेन्टरले खुला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम तथा लागूऔषधविरुद्धका अभियान सञ्चालन गरिसकेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने सञ्चालक उप्रेतीले जानकारी दिए।


