झापा, ११ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास रहेका छन् । प्रहरीका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले बाटिक एयरको उडानमार्फत काठमाडौँ आएका उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार दुवै महिला थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका थिए । उनीहरूको साथबाट १४ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाले जानकारी दिए । नेपालमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले विमानस्थलमा यात्रुको निगरानी तथा जाँचलाई तीव्रता दिँदै आएको छ ।



