झापा, १३ कात्तिक । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिनुभयो ।

केन्द्रबाट प्राप्त कार्डमध्ये एक लाख एक हजार ८४४ वटा वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका तथा काम विशेषले जिल्ला बाहिर रहेका व्यक्तिका कारण कार्ड वितरण हुन नसकेको उहाँले बताउनुभयो ।
“राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, रायमाझीले भन्नुभयो ।
झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगञ्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता तथा कार्ड वितरण भइरहेको छ ।
तीन महिनामा २४ हजारभन्दा बढीको विवरण सङ्कलन
चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवधिमा तीन हजार ७७८ जनालाई नागरिकता वितरण, चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि वितरण र तीन हजार १३९ जनालाई राहदानी वितरण गरिएको छ । यसैगरी पाँच हजार ७३६ जनाका लागि राहदानी सिफारिस गरिएको छ ।
प्रतिवेदनअनुसार उक्त अवधिमा वंशजका आधारमा तीन हजार ५३५, वैवाहिक अङ्गीकृततर्फ १८०, अङ्गीकृततर्फ ४६, गैरआवासीयतर्फ १६ र जन्मसिद्धका आधारमा एक जनालाई नागरिकता वितरण गरिएको छ ।
बिदाका दिन पनि सेवा
सेवाग्राहीलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा तथा शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि तथा बिदाका दिनसमेत सेवा दिएर पुराना आवेदन शून्यमा झारिएको उहाँले जानकारी दिनुभयो ।
हालै आवेदन दिने र बायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको उहाँको भनाइ छ । सेवाग्राहीको सहजताका लागि कार्यालयमा सेवाग्राहीमैत्री भौतिक संरचना निर्माण गर्नुका साथै सहायता कक्षलाई व्यवस्थित बनाइएको प्रशासनले जनाएको छ ।



