झापा, १३ कात्तिक । गैरकानुनी रूपमा क्रिप्टो करेन्सी कारोबार गरेको अभियोगमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र खेलाउने तथा अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो परिमाणमा कारोबार भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि अवैध क्रिप्टो कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



