झापा, १४ कात्तिक । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण गर्ने भएको छ।
निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारी भएपछि प्रक्रिया अघि बढाउन लागिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ।
मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुवै निकायबीच कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
समझदारीपत्रमा विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्ने, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्ने र गोपनीयता कायम राख्ने व्यवस्था उल्लेख छ।
त्यस्तै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक समस्या समाधान गर्न दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ।
दुवै निकायबीचको सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोग गरी मतदाता नामावली अद्यावधिक र प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।



