विराटनगर, १६ कात्तिक । साहित्यकार तथा समालोचक तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनात्मक कृति ‘अक्षरभित्र चिन्तन’ विराटनगरमा दोस्रोपटक विमोचन गरिएको छ। आदर्श माध्यमिक विद्यालयमा आयोजित विशेष समारोहमा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले कृतिको विमोचन गरेका हुन्।
यसअघि विमोचन भइसकेको कृतिलाई स्थानीय साहित्यिक समुदाय र पाठकसमक्ष पुनः परिचित गराउने उद्देश्यले रतुवामाई समाज विराटनगरले कार्यक्रम आयोजना गरेको हो।

समाजका अध्यक्ष विष्णुराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा आदर्श माध्यमिक विद्यालय तथा सौंठा माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं समाजका संस्थापक अध्यक्ष रमानाथ भट्टराई, साहित्यकार, बुद्धिजीवी, समाजका सल्लाहकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङबाट उदयपुर सरुवा भएका कृतिकार उप्रेतीको सम्मानमा ‘फेरि भेटौँला’ कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको विकासमा सिर्जनासँगै समालोचनाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। प्रमुख अतिथि पराजुलीले साहित्यिक कृतिको गम्भीर अध्ययन र विवेकपूर्ण मूल्याङ्कनले साहित्यको गुणात्मक विकासमा योगदान पुर्याउने बताए। साहित्य समाजको चेतना, संस्कृति र जीवनानुभूतिको अभिव्यक्ति भएकाले यसको अध्ययनले समाज बुझ्ने दृष्टिकोण प्रदान गर्ने उनको भनाइ थियो।
विशिष्ट अतिथि गणेश उप्रेती ‘सुशील’ले साहित्यिक सिर्जनाको संरक्षण, प्रवर्द्धन र मूल्याङ्कनका लागि समालोचनात्मक अभ्यास आवश्यक रहेको बताए। स्थानीयस्तरमा सिर्जना भएका साहित्यिक कृतिको अध्ययन र अभिलेखीकरणले क्षेत्रीय साहित्यिक पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने उनको धारणा थियो।
पूर्वप्रधानाध्यापक रमानाथ भट्टराईले साहित्यिक कृतिको मूल्याङ्कन प्रशंसामा मात्र सीमित हुन नहुने बताए। समालोचनाले सिर्जनाभित्रका विचार, कलात्मक पक्ष र सामाजिक सन्देशको गहन विश्लेषण गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष विष्णुराज लामिछानेले साहित्यिक तथा सामाजिक गतिविधिमार्फत बौद्धिक चेतना, आपसी सद्भाव र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले कृतिकार उप्रेतीको साहित्यिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजले रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय साहित्यको समालोचनात्मक दस्तावेज
‘अक्षरभित्र चिन्तन’ नेपाली साहित्यका विभिन्न विधामा प्रकाशित कृतिमाथि गरिएको समालोचनात्मक अध्ययनको सङ्ग्रह हो। यसमा विराटनगरलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा सक्रिय विभिन्न स्रष्टाका कविता, खण्डकाव्य, कथा, मुक्तक, हाइकु, उपन्यास तथा नाटकलगायतका कृतिमाथि समीक्षा गरिएको छ।
कृतिमा साहित्यलाई मनोरञ्जन र भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नराखी सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता, सांस्कृतिक चेतना र सामाजिक रूपान्तरणका सवालसँग जोडेर विश्लेषण गरिएको छ। लेखकले कृतिका विषयवस्तु, पात्र, भाषाशैली, प्रतीक, संरचना र अन्तर्निहित जीवनदृष्टिको सूक्ष्म अध्ययन गरेका छन्।
सङ्ग्रहमा सीमा आभासको उपन्यास ‘महायुग’ र छवि वैरागी घिमिरेको ‘विविशारा’ मार्फत सामाजिक संरचना, शक्ति सम्बन्ध, वर्गीय विभाजन तथा मानवीय मनोविज्ञानका पक्षमाथि विमर्श गरिएको छ। त्यस्तै, उमेश लुइटेलको कवितासङ्ग्रह ‘आगो खरानी जान्दैन’, बाबुराम पोखरेलको मुक्तकसङ्ग्रह ‘गोलढुङ्गा’ र मधु पोखरेलको ‘क्वाँटी’ माथिका समीक्षाले चेतना, जीवनदर्शन र मानवीय संवेदनाका विविध पक्ष उजागर गरेका छन्।
यसैगरी अर्जुन नेपालको नाटक ‘सीमा’, भवानीप्रसाद पोखरेलको कथासङ्ग्रह ‘कथा र अनुभूति’, लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ तथा हरिप्रसाद अधिकारीको कथासङ्ग्रह ‘चारमन दाउरा’ माथि पनि समालोचना समेटिएको छ।
चन्द्रकान्त भट्टराईको ‘वसन्तको पालुवा’, नानुमैया दाहालको ‘खुला आकाशमुनि’, अम्बिका खरेल उप्रेतीको ‘अन्धकारमा जून’, हेमसागर पोखरेलको ‘प्रिय हिमाल’, शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’, नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ र सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ माथिका समीक्षाले प्रकृतिचेतना, राष्ट्रप्रेम, आशा, सङ्घर्ष र स्वतन्त्र चिन्तनका विषयलाई समेटेका छन्।
सङ्ग्रहमा भीम केइरालाको ऐतिहासिक उपन्यास ‘महारानी देवलदेवी’ माथिको समीक्षा पनि समावेश छ। उक्त समीक्षामा मध्यकालीन नेपालको राजनीतिक परिवेश, शक्ति सम्बन्ध, ऐतिहासिक चेतना र मानवीय सम्बन्धका जटिल पक्षको विश्लेषण गरिएको छ।
प्रशंसा होइन, विवेकपूर्ण मूल्याङ्कन
कृतिको महत्त्वपूर्ण पक्ष साहित्यिक रचनाको मूल्याङ्कन गर्दा व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा पाठगत प्रमाण, ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ र कलात्मक संरचनालाई प्राथमिकता दिनु हो। उप्रेतीले आफ्ना समीक्षामार्फत साहित्यिक समालोचनालाई प्रशंसा वा निन्दामा सीमित नराखी कृतिका सबल पक्ष, अन्तर्विरोध, वैचारिक आधार र सामाजिक अर्थको खोजी गर्ने बौद्धिक प्रक्रियाका रूपमा प्रस्तुत गरेका छन्।
साहित्यिक सिर्जनाले समाजका अनुभूति र विचार अभिव्यक्त गर्ने मात्र नभई स्थापित मान्यतालाई प्रश्न गर्दै नयाँ चेतना निर्माणमा समेत भूमिका खेल्ने भएकाले समालोचनाको आवश्यकता अझ बढ्ने कृतिको मूल आशय देखिन्छ।
स्थानीय स्रष्टाका विविध विधाका सिर्जनालाई एउटै समालोचनात्मक सङ्ग्रहमा समेटिनुले विराटनगरको साहित्यिक गतिविधिको दस्तावेजीकरण र मूल्याङ्कनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसले स्थानीय साहित्यिक सिर्जनालाई व्यापक नेपाली साहित्यिक परिदृश्यसँग जोड्ने प्रयाससमेत गरेको छ।
कार्यक्रममा सरुवा भई उदयपुर जान लागेका उप्रेतीलाई शुभकामना तथा बिदाइ गरिएको थियो। सहभागीहरूले उनको आगामी प्रशासनिक जिम्मेवारी सफल रहोस् भन्दै साहित्यिक साधनालाई पनि निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए।



