झापा, १८ कात्तिक । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु. ४ अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु. ४ अर्ब ६७ करोड ७ लाख ७३ हजार सङ्कलन भएको हो।

महिनागत विवरणअनुसार साउनमा रु. १ अर्ब ४३ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. १ अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो। यो महिनाको लक्ष्यको तुलनामा कम हो।
त्यस्तै, भदौमा रु. १ अर्ब ६४ करोड लक्ष्य राखिएकामा रु. १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
असोजमा भने राजस्व सङ्कलनमा उल्लेख्य सुधार देखिएको छ। उक्त महिनामा रु. १ अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. १ अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ। यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो।
कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा रु. ४ अर्ब १५ करोड २० लाख ९ हजार राजस्व सङ्कलन भएको थियो। यस वर्षको सोही अवधिमा गत वर्षको तुलनामा राजस्व सङ्कलन बढेको देखिएको छ।
तीन महिनाको तथ्याङ्कले मेची भन्सारमा राजस्व सङ्कलन क्रमशः सुधार हुँदै गएको देखाएको छ। विशेषगरी असोजमा लक्ष्यको झन्डै शतप्रतिशत राजस्व सङ्कलन हुनुले भन्सारको आम्दानीमा सकारात्मक सङ्केत देखिएको छ।



