झापा, १९ कात्तिक । झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा इलेक्ट्रोनिक्स पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै बिहीबार दिउँसो घरधनी राजेश मण्डलको घरमा आगलागी भएको हो । घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब ३ करोड रुपैयाँ, निरिका फार्मेसी तथा गोदाममा १ करोड रुपैयाँ र घरधनी मण्डलको घरमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह नगरपालिकाका सातवटा दमकल परिचालन गरिएको थियो ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीसमेत खटिएका थिए । घण्टौँको प्रयासपछि आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भए/नभएको तथा घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



