add
कृषि विशेष स्थानीय खबर

झापामा तीन हजार हेक्टरमा ‘एग्रो फरेष्ट’

सन्तोष शर्मा
बनियानी, २६ माघ ।
झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ ।

झापाको तोपगाछीस्थित रतुवामाई वृक्षारोपण आयोजना अन्तरगतको करिब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्नका लागि अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

रतुवामाई आयोजनालाई प्रदेन नं. १ सरकारको मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । ‘आयोजना अन्तरगतको जग्गामा एग्रो फरेष्ट निर्माण लागि नयाँ प्रक्रिया शुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘आयोजनालाई प्रदेश सरकार मातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको छ ।’

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०६७ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेट समेत विनियोजन गरेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । आयोजनाले वार्षिक रू ४ करोड आम्दानी गर्दै आएको र रू १ करोड राजश्व बुझाउँदै आएको प्रमुख पोर्तेलले बताउनुभयो ।

एग्रो फरेष्टको अवधारण अनुसार आँप, लिच्ची, कठहर, कागती लगायतका फलफूलका बिरुवा लगाइने भएको हो । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी बृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताउनुभयो ।

वृक्षारोपण गरेर उत्पादित काठदाउरा आपूर्ति गर्ने उद्देश्यले विसं. २०३३ सालमा यो आयोजना स्थापना भएको हो । आयोजनाको कुल क्षेत्रफल २९ सय ७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदम लगायत जातका रुख÷बिरुवा लगाइएका छन् ।

Facebook Comments