add
कृषि स्थानीय खबर

गौरादहमा जैविक मल उत्पादन तालीम

सान नेपाल
गौरादह, २२ चैत ।
गौरादह नगरपालिका वडा नं. १ स्थित वडा कार्यालय सभाहलमा जैविक मल उत्पादन सम्बन्धि दुई दिने तालिम सुरु भएको छ ।

गौरादह सामुदायिक कृषि सहकारी संस्थाले आयोजना गरेको तालिममा संस्थाका शेयर सदस्यहरुमध्ये ७० जना अगुवा कृषकहरु सहभागी भएका छन् । तालिमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेले कार्यक्रमको औचित्य बारे बताएका थिए ।

तालीम लिए पश्चात किसानहरुले घरैमा जैविक मल उत्पादन गर्न सक्ने र करेसाबारीमा जैविक मलको प्रयोग गरी अग्र्यानिक साग सब्जी उत्पादन गर्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे । कृषि प्राविधिक तथा तालीमका सहजकर्ता मुक्तिनाथ बरालले सहभागी किसानहरुलाई जैविक मल बनाउने ३ प्रकारको विधिको बारेमा जानकारी गराएका छन् ।

तालीममा जैविक मल बनाउने सैद्धान्तिक ज्ञान दिनुका साथै व्यावहारिक र प्रयोगात्मक तरिको बारेमा विस्तृत जानकारी गराइने छ । सुक्ष्म खाद्य तत्व बनाउने विधि, जैविक विषादी बनाउने विधि, डि कम्पोजर बनाउने विधि र त्यसको प्रयोगको बारेमा समेत सहभागीहरुलाई प्रशिक्षित गराइने प्रशिक्षक बरालले वताएका छन् ।

वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा खेमनाथ संग्रौला, कल्पना अधिकारी र इन्दिरा पोखरेलले लगायतले धारणा राखेका थिए । जे.टी.ए नविना लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका सचिव देवेन्द्रकुमार खड्काले सञ्चालन गरेका थिए ।

Facebook Comments