
झापा, २२ असार । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् ।
किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिनुभएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभेँडा बिक्री गरेको बताए ।
उनले भने, ‘यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।’ व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् ।
तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा रू ४० मा बिक्री गरिरहेको बताए । उनले खुद्रा व्यापारीलाई रू १५ देखि रु १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए ।
तरकारी खरिद गर्न आउनुभएकी विर्तामोड–३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताइन् । ‘मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै’, उनले भनिन्, ߮‘एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।’
जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


