add
कृषि विशेष स्थानीय खबर

हल्दिबारी वडा नं. ४ किसानलाई सबल बनाउँदै

द्रोण अधिकारी
हल्दिबारी, २३ बेैशाख ।
‘समृद्ध वडा सवल वडाबासी’ अभियान चलाइ रहेको झापाको हल्दिबारी ४ नम्बर वडाले व्यावसायिक कृषि उत्पादन अनुदान वितरण गरेको छ ।

दोस्रो गाउँ सभाबाट अनुमोदित कार्यक्रम अन्र्तगत कृषक अनुदानमा च्याउ खेती, बाख्रापालन, सब्जी खेती र महिला सवलीकरणमा स्वयम्सेवीकालाई साइकल वितरण गरेको हो ।

वडाध्यक्ष होमप्रसाद चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा च्याउ खेती अनुदानमा ४ जना कृषकलाई प्रति कृषक २५ हजार, बाख्रापालनमा ३ जना कृषकलाई ३० हजार र १ जनालाई १० हजार, सब्जी खेतीतर्फ ए ग्रेडका किशान ३ जनालाई प्रति किशान १८ हजार, बी ग्रेडका ३ जनालाई प्रति किशान १२ हजार, सी ग्रेडका किशान ९ जनालाई प्रति किशान ७ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी समाज सेवा तथा महिला सवलीकरण अन्र्तगत वडामा रहेका ५ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई एक एक थान साइकल समेत प्रदान गरिएको थियो । वडा सदस्य महेशलाल मेचेले कार्यक्रममाथि प्रकाश पार्दै समृद्ध हल्दिवारी अभियान सफल बनाउन व्यवसायिक कृषिका लागि अनुदानको नीति लिइएको प्रष्ट पारेका थिए । उनले समग्र वडाका लागि ४० लाख रकम विनियोजित भए पनि वडाका विकासका लागि सडक, पुल पुलेसा मात्र नभएर वडाबासीको जीवन स्तर उकास्न व्यवसायिक कृषि विकासको आवश्यकता महसुस गरिएको जानकारी दिए ।

वडा सदस्य पवित्रा सेञ्चुरीले स्वागत गरेको कार्यक्रममा वडाध्यक्ष चुडालले नागरिकको घरदैलोको सरकारका रूपमा स्थानीय सरकार रहेको भन्दै भौतिक पुर्वाधार विकाससित नागरिकको जीवन स्तर उकास्न कृषि तथा पशुपालनमा जोड दिएको जानकारी दिए । उनले कृषि क्षेत्र उन्नत नभएसम्म समृद्धिको ढोका खुल्न नसक्ने प्रष्ट पारे ।

वडा सचिव जयप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य केदारप्रसाद उप्रेती, कार्यपालिका सदस्य गीतादेवी तिम्सेना, च्याउ कृषक सीता न्यौपाने, बाख्र पालक सुनिल मेचे सब्जी कृषक श्यामलाल मेचे लगायतले शुभकामना मन्तव्य राख्दै अनुदानले कृषि व्यवसायमा उत्साह ल्याएको धारणा राखेका थिए ।

Facebook Comments