रूपेन्द्र शेर्मा
उर्लाबारी, ६ जेठ । कांगे्रस नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकारले सिँगो देशलाई कब्जा गरेको आरोप लगाए । वर्तमान सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको उनले दाबी गरे ।
कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा सिटौलाले ओली सरकारको कडा आलोचना गरे । उनले सरकारले प्रेसमाथि नियन्त्रण गर्न खोजेर लोकतन्त्र माथि नै धावा बोलेको आरोप लगाए । सिटौलाले पार्टी नेतृत्वले भातृ सँगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए । तरुण दल, नेविसंघ र महिला संघ कुनैपनि भातृ संगठनहरुले राम्रोसँग काम नगरिरहेको सिटौलाले बताए । उनले पार्टीभित्र आपसी बैमनस्यता र र कलह अन्त्य हुनुपर्नेमा जोड दिए ।
कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरेले ओली सरकारले लोकतन्त्रको मुल्य र मान्यतालाई ध्वस्त पारेको आरोप लगाए । सरकारको लाचारीपनका कारण दिनहूँजसो हत्या हिँसा बढिरहेको दाबी गर्दै उनले यस परिस्थितिमा कांग्रेस नेतृत्वले गुट–उपगुटमा नलागी जिम्मेवार प्रतिपक्षको भूमिका निर्बाह गर्नुपर्ने सुझाव दिए ।
कांग्रेसका नगर सभापति बिरबल थापाको सभापतित्वमा भएको सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागो, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले बोलेका थिए ।
कांग्रेस नेतृत्वको चर्को आलोचना
कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् ।
कांग्रेस नेतृत्वले जिम्मेवार प्रतिपक्षको भूमिका निर्बाह गर्नुको सट्टा गुट–उपगुटमा लागेको कार्यकर्ताले आरोप लगाए । कांग्रेसका सक्रिय कार्यकर्ता एबम् उर्लाबारी–३ का वडा सदस्य सोमप्रसाद तिम्सिनाले बाईबडी काण्ड, निर्मला पन्तको हत्याकाण्ड, बालुवाटार काण्ड र ३३ किलो सुन काण्डमा कांग्रेसले प्रतिपक्षको भूमिका निर्बाह गर्न नसकेको गुनासो गरे ।
कांग्रेसका अर्का कार्यकर्ता जयधर्म आचार्यले पार्टी नेतृत्वले क्रियाशिल सदस्यता बितरणका लागि कार्यकर्ताहरुबीच विभेद गर्न नहुने बताए । अर्का कार्यकर्ता टंकनाथ दाहालले कांग्रेस कार्यकर्ताहरु पार्टी मजबुद भएको हेर्न चाहेकाले नेतृत्वहरु आपसी कलहमा लाग्न नहुने सुझाव दिए ।
कार्यक्रममा नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष गोमा नेपाल, इन्द्र ओलीलगायतले कांग्रेस नेतृत्वको आलोचना गर्दै एक ढिक्का हुन सुझाव दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।