add
कृषि विशेष स्थानीय खबर

झापामा प्रदेश १ कै ‘अब्बल’ गाई फर्म

बिर्तामोड, १० जेठ : झापाको बाह्रदशी गाउँपालिका–५ का युवा दिनेश थापा गाईपालन व्यवसायबाट स्वरोगार बन्न सफल हुनुभएको छ ।

गाईपालन शुरु गरेको छ वर्षको छोटै अवधिमा थापा स्वरोजगार बन्न सफल हुनुभएको हो । विसं. २०६९ सालदेखि पाथीभरा एग्रो फर्ममार्फत् गाईपालन व्यवसायको थाली गर्नुभएका थापा आफूमात्र स्वरोजगार बन्नुभएको छैन, अन्य १२ जनालाई पनि रोजगारी दिन सफल हुनुभएको छ ।

‘स्वदेशमै केही गरौँ भन्ने सोचका साथ गाईपालन व्यवसाय शुरु गरेको हुँ’, थापाले भन्नुभयो, ‘अहिले राम्रै आम्दानी हुन थालेको छ ।’ १० माउ गाईबाट व्यावसायिक गाईपालनको यात्रा थालनी गर्नुभएका थापालको गाईफर्ममा अहिले बाछाबाछीसहित १५० भन्दा बढी गाई छन् । फर्ममा अधिकांश होलिस्टेन र जर्सी जातका उन्नत गाई छन् ।

‘अहिले ४० माउ लैना, २० माउ थकौटा र ४० वटा व्याउने गाई छन्’, परिश्रमबाट प्राप्त उपलब्धि सुनाउँदै भन्नुभयो, ‘पशुपालनमा अवसर र सम्भावना छ तर आफ्नो प्रत्यक्ष निगरानी महत्वपूर्ण हुन्छ ।’ गाई फर्मममा बिहान ४ बजेदेखि बेलुका ८–९ बजेसम्म कर्मचारी सँगसँगै आफू खट्ने गरेको उहाँले बताउनुभयो ।

रू १२ लाखबाट सुरु गरेको उहाँको गाई फर्ममा अहिले रू २ करोड ५० लाखभन्दा बढीको भइसकेको छ । अहिले दैनिक ८५० लिटरदेखि ९०० लिटरसम्म दुध उत्पादन हुने गरेको थापाले बताउनुभयो ।

उत्पादन लागत घटाउने उद्देश्यले उहाँले घाँस खेती समेत गर्नुभएको छ । छ बिघामा बहुवर्षीय घाँस, छ बिघामा मौसमी घाँस र १० बिघामा साइलेक्स लगाएको उहाँले बताउनुभयो ।

पराल आपतकालीन अवस्थामा मात्र खुवाउने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘वर्षमा ६÷७ लाख केजी साइलेक्स उत्पादन गर्छौं, जसले छ महिना पुग्छ, बाँकी छ महिना हरियो घाँस खुवाउँछौँ, पराल स्टक गरेका छौँ तर हतपत खुवाउँदैनौँ ।’

कृषिमा प्रविधिको प्रयोग गरे आम्दानी लिन सकिने उहाँको बुझाइ छ । ‘आधुनिक तरिकाले कृषिमा लागे राम्रो फाइदा लिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘साथै, पढालेखा युवा अब कृषिमा लाग्नुपर्छ ।’

पशुपालन व्यवसायलाई अझ विस्तार गर्दै देशकै नमूना फर्मको रुपमा अगाडि बढाउने आफ्नो सोच रहेको उहाँले सुनाउनुभयो । प्रदेश नं. १ सरकारले उनको फर्मलाई साइलेक्स, चिलिङ भ्याट र जेनेरेटरका लागि रू २० लाख अनुदानसमेत दिएको छ ।

काम गरिरहेकै अवस्थामा भेटिनुभएका बाह्रदशी–४ का महमद अलीले आफू फर्मले दिएको सेवा सुविधा र पारिश्रमिकप्रति सन्तुष्ट भएको बताउनुभयो । दुई वर्षदेखि काम गरिरहेका उहाँले भन्नुभयो, ‘विदेशमा कमाउने पैसा यहीँ कमाएको छु, काम गर्न पनि सहज छ ।’ आफूले खाएर मासिक रू २२ हजार पारिश्रमिक पाउने गरेको उहाँले बताउनुभयो । थापाको गाई फर्म प्रदेश १ मै अब्बल मानिन्छ ।

Facebook Comments