
द्रोण अधिकारी
भद्रपुर, ९ असार । भद्रपुर–१ हिमाली चोक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठ रोजगारीका शिलशिलामा ८ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । एक वर्ष भारतमा होटल व्यवसाय गरे, सिंगापुरमा २ वर्ष कुक भएर विताए अनि ५ वर्ष दक्षिण कोरियामा कृषि फर्ममा कृषि मजदुर भएर पसिना बगाए ।
हुन त विमलको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले उनलाई अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् ।
विमलले ४ महिना अगाडिबाट भद्रपुर १ हिमाली चौक आसामे बस्तीमा किच्चकबध कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको गाई गोठ भाडामा ५ वटा माउ गाई र ३ वटा भंैसी राखेर व्यवसायिक पशुपालन सुरू गरेका छन् । श्रेष्ठले २ वटा गुजराती मुडुली होलस्टेन गाई प्रति गाई १ लाख ५० का दर खरिद गरेर ल्याएका छन् भने प्रति गाई २५ लिटरसम्म दूध आउने गरेको छ । यस्तै स्थानीय जर्सी जातका ३ वटा गाईले प्रतिगाई १० लिटरसम्म दूध आउने गरेको उनको भनाइ छ । यस्तै ३ वटा उन्नत दोक्ला जातिका ३ वटा भैंसी समेत पालेका श्रेष्ठका प्रतिभैंसी १० लिटरसम्मा दूध उत्पादन हुँदै आएको छ ।
दैनिक सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने विमललाई दूध बिक्री गर्ने वजारको भने समस्या रहेको छ । दक्षिण कोरियाको ५ वर्षे अनुभवले व्यवसायिक पशुपालनको क्षेत्रमा होमिएका उनी वजारको उचित प्रबन्ध हुने हो भने दैनिक ५ सय लिटर बढी दूध उत्पादन गर्ने सोचमा छन् । उनले आफ्नो फर्मबाट उत्पादन गरेको ८० लिटर दूध किच्चकबध कृषि सहकारी संस्था लिमिटेडको दूध संकलन केन्द्रलाई बिक्री गर्दै आएका छन् । सहकारीमा आबद्ध स्थानीय पशुपालक कृषकका सानो सानो परिणमको दूध संकलन गर्ने लक्ष्यका साथ खोलिएको चिस्यन केन्द्रले दैनिक २५० लिटरभन्दा बढी दूध संकलन गर्न नसक्ने भएपछि श्रेष्ठको गाई भैंसी फर्मले बजारीकरणकै कारण ठूलो हुने अवसर पाउन सकेको छैन ।
श्रेष्ठले साउनबाट ५ वटा गुजराती मुडुली होलस्टेन गाई थप्ने सोच पालेका छन् । यी गाई थपेपछि सय लिटर बढी दूध उत्पादन बढ्छ । यो उत्पादनको बजार सुनिश्चित भने भएको छैन । हाल उनको फर्मबाट उत्पादित गाई र भैंसीको दूध सरदर ५० रूपैयामा बिक्री भइरहेको छ । यो मूल्य लागतको तुलनामा आशाजनक भने छैन । बजारमा दूध डेरीले फ्याट झिकेर ७० रूपैयासम्ममा बेचिरहेका भए पनि कृषको उत्पादनले तुलनात्मक रूमा कम मूल्य पाइरहेको विमलको भनाइ छ । यस वर्ष २ बिगाह जग्गा वार्षिक २५ हजार भाडा तिर्ने गरी घास खेती गरेर पशु आहारको व्यवस्थापन गरिरहेका उनले २ जनालाई रोजगारी समेत दिएका छन् । आगामी वर्षबाट पशु पालन र तरकारी खेती साथ साथै अगाडि लाने सोच पालेका उनको अनुरोध रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा छन् । जसलाई सरकारको सहयोगमा खोलिनु पर्छ अनि मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्ने छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


