भद्रपुर, १४ असार । राष्ट्रिय परीक्षा बोर्डको गम्भीर लापरवाहीले भद्रपुर–७ स्थित एमरल्ड एकाडमीका एस ई ई परीक्षामा सहभागी १५ जना विद्यार्थीको परीक्षा फल अन्यौलमा परेको छ ।
बोर्डले परीक्षा फल प्रकाशन गर्दा एउटा विषयको नतिजा नराखेकै कारण अन्य विषयमा उत्कृष्ट नतिजा प्राप्त गरे पनि १५ जना विद्यार्थीको एस ई ई नतिजा अन्यौलमा परेको हो ।
विज्ञान विषय लिएर उच्च शिक्षा हाँसिल गर्ने चाहना राखेर वातावरण विज्ञानलाई ऐच्छिक विषय बनाइ परीक्षामा सामेल भएका उत्कृष्ट छात्र छात्रा कक्षा १० को अन्तिम नतिजा आउँदा अबको भविष्य के हुन्छ भन्ने अन्यौलमा पर्नु पर्ने बाध्यता आइलाग्यो । विद्यालयका विद्यार्थीको भविष्य अन्यौल हुनेदेखेपछि विद्यालयले स्थानीय सरोकार राख्ने नगर शिक्षा कार्यालयमा समस्या राख्यो तर, नगर शिक्षाले शिक्षा समन्वय इकाइ देखाएर पन्सिएपछि समस्या जिल्लामा ठोकियो ।
जिल्लाको समस्या सुन्ने समन्वय इकाइले ७ वटा समस्या हल गर्न निर्देशन प्रदान गरेपछि समस्या झन जटिल भएको छ । समन्वय इकाइले दिएको निर्देशन अनुसार परीक्षा सञ्चालनको जिम्मेवारी लिएको केन्द्राध्यक्षको प्रतिवेदन, हाजिरी विवरण, चलानी पत्र, प्रवेश पत्र ग्रेडिङ सिट र निवेदन लिएर राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा जान निर्देशन दिएको हो । समन्वय इकाइका अनुसार विद्यार्थीले परीक्षा दिए नदिएको विवरण पठाउने जिम्मेवारी केन्द्रध्यक्षसित रहन्छ । केन्द्राध्यक्षले पठाएको विवरण अनुसार परीक्षा बोर्डले उत्तरपुस्तीकाको परीक्षण गर्ने जनाइएको छ ।
यता विद्यालयका प्रिन्सिपल सिताराम सुवेदी भने कक्षा ९ मै ऐच्छिक विषयको टुंगो लाग्ने हुँदा त्यही अनुसार परीक्षा दिएका विद्यार्थीको परीक्षाफल रोकिदा भविष्य अन्योलमा परेको बताउँछन् । परीक्षाफलकै कारण अगाडिको अध्ययन रोकिए विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्ने सुवेदीको भनाइ छ ।
यस घटनाले परीक्षा आवेदन बुझ्ने राष्ट्रिय परीक्षा बोर्डदेखि परीक्षा सञ्चालनको जिम्ममा लिने बोर्डको स्थानीय केन्द्राध्यक्षसम्मको खेलवाडले निर्दोष विद्यार्थीको भविष्यमा अन्योलता देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।