
लीलाराज झापाली
शरणामती, ३२ भदौ । गाईको दाना, चोकर र परालको मूल्य बढे पनि दुधको मूल्य नबढेपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषक मारमा परेका छन् ।
दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार मूल्यभन्दा ज्यादै कम मूल्य दिएपछि आफूहरुले सहकारीबाट ऋण गरेर सुरु गरेको गाईपालन पेशा संकटमा परेको कृषकको गुनासो छ ।
यस क्षेत्रमा झापा गाउँपालिका ६, ७, ३ र ४ नम्बर वडाका २५० कृषकले व्यावसायिक गाई तथा भैँसीपालन गरी नेपाल बहुउद्देयीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी दुग्ध डेरीलाई दुध बिक्री गर्दै आएका छन् । पहिले दुग्ध डेरीका सञ्चालकहरुले गाई प्रोत्साहन गरे पनि भनेअनुसारको दुधको मूल्य नपाएको कृषकको गुनासो छ ।
‘पहिले जति पनि दुध खरिद गदिदिन्छौँ भने’, स्थानीय सरद तिम्सिनाले भने, ‘ऋण गरेर गाई पनि पालियो, अहिले दुध प्रतिलिटर ४० रुपैँया पनि बेच्न मुस्किल परेको छ ।’ किसानले दुधको मूल्य नपाए पनि डेरीले प्रतिलिटर ७० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।
दुग्ध चिस्यान केन्द्रले फ्याट नापेर दुधको मूल्य दिने बताए पनि फ्याट बढी भएमा कम बनाएर लेख्ने र कम भएमा त्यति नै दिने गरेको तिम्सिनाले गुनासो गरे ।
यता, दुग्ध चिस्यान केन्द्र शरणामतीका कर्मचारी चन्द्रप्रसाद दंगालले आफूले कृषकको दुधको फ्याट कम लेख्न नमान्दा चिस्यान केन्द्रले हालै १५ दिन कामबाट निलम्बन गरिदिएको गुनासो गरे ।
‘कृषकलाई दुधको दाम बढाउ भनेको थिएँ, बरु कर्मचारीलाई दशैं बोनस दिने प्रस्ताव आयो, मैले यसो नगरौँ भन्दा उल्टै मलाई निलम्बन गरियो’, दंगालले भने ।
स्थानीय दलबहादुर खड्काले आफूले बढी फ्याट आउने आशले भैँसीपालन गरेर दुध लैजादा समेत प्रतिकिलो ४८ रुपैयाँ भन्दा बढी रकम कहिले नपाएको बताए । ‘दिनभर घाँस काट्यो दुध बिक्री गर्दा मिहिनेतको दाम पनि आउँदैन कसरी घरखर्च चलाउनु कसरी बैँकको किस्ता तिर्नु’, खड्काले भने ।
‘पहिले भैँसीको दुधको प्रतिलिटर ७५ रुपैयाँ आउँछ भनेर भैँसी पालेको हुँ, आधा पनि दाम आएन’, खड्काले भने । कृषक दुर्गा तामाङले समाचारमा दुधको भाउ बढेको सुनेर खुसी भए पनि आफूले दुधको मूल्य बुझ्ने बेलामा जहिल्यै मन अमिलो बनाउनु परेको गुनासो गर्छन् ।
पूर्व–पश्चिम राजमार्गदेखि १२ किलो मिटर दक्षिणमा रहेको यस क्षेत्रको चिस्यान केन्द्रमा केही महिना पहिलेसम्म हरेक दिन २ हजार लिटरभन्दा बढी दुध स्थानीयले बिक्रीका लागि ल्याउने गरे पनि दुधको मूल्य नपाउँँदा अहिले दैनिक एक हजार लिटरमात्रै दुध बिक्रीका लागि कृषकले ल्याउने गरेका छन् ।
केही अगुवा कृषकले दुधको मूल्य नपाएपछि छिमेकी भारतको बिहार राज्यस्थित डिघल बैंक, धनतोला, हरुवाडंगा क्षेत्रसम्म दुध बिक्रीका लागि लैजाने गरेका छन् । तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जहिल्यै दुध लैजान नदिने हुँदा समस्यामा परेको कृषकको गुनासो छ ।
भारतमा भने नेपाली ६४ रुपैयाँमा दुध बिक्री हुने गरेको कृषकको भनाइ छ । अघिल्लो वर्ष सोही दुग्ध चिस्यान केन्द्रले दुध खरिद नगरिदिँदा स्थानीय कृषकले सडकमै दुध पोखेर विरोध जनाएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


